विदेशी लगानी आकर्षित गर्न शुक्रबारदेखि सम्मेलन, ४ सय बढी लगानीकर्ता काठमाडौंमा



काठमाडौः सरकारले अन्तर्राष्ट्रिय लगानीकर्ताको लगानी मुलुकभित्र आकर्षित गर्न शुक्रबारदेखि काठमाडौंमा लगानी सम्मेलन सुरु हुँदैछ। दुई दिन हुने सम्मेलनमा सहभागी हुन विभिन्न देशका लगानीकर्ता काठमाडौं आइसकेका छन्।

भारत,चीन, इजरायल,भियतनाम, दक्षिण कोरिया,स्पेन लगायतका विभिन्न देशका झण्डै साढे चार सय लगानीकर्ता काठमाडौं आइसकेको लगानी बोर्डले जनाएको छ। दुई वर्षपछि हुन लागेको अहिलेको सम्मेलनले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालभित्र लगानी गर्न उपयुक्त वातावरण भएको सन्देश दिने उदेश्यसहित गर्न लागिएको हो।

तीन तहको निर्वाचनपछि आएको स्थीर सरकारले केही औद्योगिक व्यवसायिक क्षेत्रका ऐन नियमलाई समेत संशोधन गरेर लगानीमैत्री बनाउन खोजेको छ। बोर्डका अनुसार सम्मेलनमा एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष होङ ली तथा माइक्रोसफ्ट, अमेजन, पावर चाइना लगायतका कम्पनीका प्रतिनिधी समेत सहभागी हुनेछन्।

सम्मेलनका लागि भारतबाट निर्माण सामाग्री, लिड लाइट, हाइड्रोपावर, सडक पुर्वाधार लगायत विभिन्न क्षेत्रमा लगानीकर्ता सहभागिताका लागि आएका छन्। इण्डियन इन्स्टिच्युट अफ पब्लिक पोलिसीका निर्देशक केसी सुन्दरम, इवाइका साझेदार आर वालाचन्दर, किङ्गर इलेक्ट्रोनिक्सका संचालक विनोद किङ्गर, इन्भारो हाइलाइट प्राइभेट लिमिटेडका निर्देशक देवेन्द्र कुमार सिंह, टेरेफिर्मा इन्टरनेश्नलका अध्यक्ष काजेम सामन्दरी, सिनर्जी इनभारोनिक्सका प्रवन्ध निर्देशक अजे पोद्दार लगायतका लगानीकर्ताको सहभागिता रहेको छ।

स्पेनबाट राजदुतावासबाट चिफ इकोनोमी एण्ड कमर्सियल काउन्सिलर रेजिना सान्चा र मार्केट एनालाइस्ट’बजार विश्लेषक’ सौरवी अरोराको सहभागिता सम्मेलनमा रहनेछ। सम्मेलनका लागि ७७ वटा आयोजना शोकेश गरिँदैछ।

विहिबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ४० देशका ६ सय बढी लगानीकर्ता आउने जानकारी दिएका थिए। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपीशर्मा ओलीले गर्नेछन्।

सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडा, म्यानमारका लागि लगानी तथा विदेश आर्थिकसम्बन्धी मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टविग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेनले संबोधन गर्नेछन्।

बुधबारनै आएका कतिपय लगानीकर्ताले भने विहिबार विहानैदेखि व्यवसायिक संस्थासँग छलफल समेत गरेका छन्। नेपाल चेम्बर अफ कमर्शले विहिवारनै ती देशबाट आएका लगानीकर्तासँग चेम्बर भवनमा छलफल गरेको छ।

छलफलमा नेपालको लागि इजरायलका राजदूत वेन्नी ओमरले नेपालमा सुचना र प्रविधिसँगै कृषि क्षेत्रमा पनि सम्भावना रहेको बताए। उनले भने-’नेपालको विभिन्न पूर्वाधार विकासका लागि हामी यहाँ लगानी गर्न चाहन्छौँ जसले गर्दा हामीले इजरायलबाट आफ्नो उत्पादन यहाँ प्रयोग गर्न सक्छौँ।’

पुर्वाधार विकासको लागि इजरायलमा रहेका पाँचवटा ठूला बैंकमार्फत सस्तो ब्याजमा ऋण उपलब्ध गराउन सकिने उनले बताए। नेपालमा लगानी गरिसकेपछि आउने मुनाफा इजरायल वैदेशिक मुद्रामा लैजान पाउने व्यवस्था गर्नुपर्ने बताए।

सुचना तथा प्रविधिमा लगानी गर्नका लागि इजरायली कम्पनी काभादेभ सूचना प्रविधि क्षेत्रमा लगानी गर्न इच्छुक रहेको उनले बताए। ‘नेपालमा सुचना तथा प्रविधि विकास क्षेत्रमा राम्रो अवसर छ। यो क्षेत्रमा हामीले यहाँ धेरै विकास गर्न सक्छौँ।‘  कम्पनीका प्रमुख कार्यकारी अधिकृत निमरोड बर्जरले भने।

छलफलमा भियतनामले नेपालको सुचना, संचार तथा प्रविधी क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएको छ। यो क्षेत्रमा लगानी गर्नका लागि भियतनाम नेपालमा वैदेशीक लगानी भित्र्याउन इच्छुक रहेको भियतनाम पोष्ट्स एण्ड टेलिकम्युनिकेशन ग्रुपका व्यापार विभाग प्रमुख एनगुएन होङसोङले बताए।

उनका अनुसार यो कम्पनीले म्यानमार, मलेसिया र फिलिपिन्समा आफ्नो उद्योग संचालनमा ल्याइसकेको छ। ‘नेपालमा प्रविधिमार्फत नै स्मार्ट एग्रिकल्चर गर्न सकिन्छ। हामीले यहाँको कृषि क्षेत्रमा राम्रो सम्भावना देखेका छौँ। पिउने पानी, चामल, कफी लगायत यहाँ उत्पादन हुने विभिन्न कृषि उपजमा प्रविधीको प्रयोग गर्न सकिन्छ।‘कम्पनीका प्रवन्धक एगुएन तुआन दुओङले भने।

छलफलमा कोरिया ट्रेड इन्भेष्टमेन्ट प्रमोशन एजेन्सी ’कोत्रा’ले नेपालको पुर्वाधार, हाइड्रोपावर लगायत क्षेत्रमा लगानीमा प्राथमिकता दिएको जनाएको छ। नेपालको सडक पुर्वाधार विकासका लागि कोरियाको जीएस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन लगानी सम्मेलनमा आउने कोत्राकाकार्यकारी निर्देशक ताए ह्युङ लिमले बताए। नेपालमा लगानी गरिसकेपछि लगानीकर्ताले यहाँको बसोबास, भिसा, मुनाफा लगायतका कुरामा चासो राखेका छन्।

प्रतिक्रिया दिनुहोस्