राजनीतिक स्वरूप लिँदै विद्यार्थी आन्दोलन



जनकपुरधाम : प्रदेश २ मा एसइई परीक्षाको प्रश्नपत्र आउट भएपछि  सुरु भएको विद्यार्थी आन्दोलनले राजनीतिक स्वरूप लिन थालेको छ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा संघीय सरकार र प्रदेश सरकार पक्षधर विद्यार्थी संगठन र समर्थक आन्दोलनमा उत्रेका छन्। दुवै पक्षका विद्यार्थी संंगठन आपसमा आरोप प्रत्यारोप गर्दै आ–आफ्ना पक्षको बचाउ गरिरहेका छन्।

दुवै समूह नगरको विभिन्न भागमा प्रदर्शन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि नेकपा समर्थित अनेरास्ववियु र फोरम नेपाल समर्थित समाजवादी विद्यार्थी फोरमका कार्यकर्ताबीच सामान्य झडपसमेत भएको छ।

एसइईका विद्यार्थीको आन्दोलन साम्य पार्नुको साटो प्रदेश र संघीय दुवै सरकारका नेतृत्वकर्ता दलले एकअर्कामाथि दोषारोपण गर्दै आफ्ना विद्यार्थी संगठनलाई सडकमा उतार्नुले झडप र द्वन्द्व बढ्ने सम्भावना देखिएको छ।

दुवै समूहको जम्काभेट भए प्रदर्शन झडपमा परिणत हुन सक्ने र विकराल स्वरूप लिन सक्ने स्थिति उत्पन्न भएको छ।

मुख्यमन्त्री कार्यालय अगाडि र पिराडी चोकलगायत केही स्थानमा संघीय सरकार समर्थकले टायर बालेर प्रदर्शन गरेका छन्। प्रदेश सरकारको नेतृत्वकर्ता दलका विद्यार्थी संगठनले संघीय सरकार मुर्दाबादलगायत नारा लगाउंदै चोकचोकमा प्रदर्शन गरिरहेको छ ।

संघीय सरकारको नेतृत्वकर्ता नेकपा समर्थित स्थानीय र विद्यार्थी संगठन प्रदेश सरकारविरुद्ध चर्को नाराबाजीसहित राजीनामा माग्दै यहाँका विभिन्न चोकमा प्रदर्शन गरिहेका छन्।

त्यसैगरी प्रदेश सरकारको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल समर्थक विद्यार्थी संगठन र स्थानीयले प्रश्नपत्र आउट हुनुको सम्पूर्ण दोष संघीय सरकारमाथि लगाएका छन्।

त्यसको नैतिक जिम्मेवारी लिई शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राजीनामा दिनुपर्ने माग गर्दै उनीहरू संघीय सरकारविरुद्ध प्रदर्शनमा उत्रेका छन्।

नेविसंघ पनि सडकमा

प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले पनि संघीय सरकारविरुद्ध नाराबाजी गर्दै शिक्षामन्त्री पोखरेलको राजीनामा माग्दै सडकमा प्रदर्शन गरिरहेका छन्।

अधिकांश सरोकारवाला निकाय र स्थानीयले प्रादेशिक रूपमा एसइई परीक्षा भए पनि प्रश्नपत्र छपाइदेखि परीक्षा केन्द्रसम्म पुर्याउने  जिम्मेवारी संघीय सरकारकै प्रतिनिधिको हुने भएकाले घटनाको नैतिक जिम्मेवारी लिएर दोषीमाथि कारवाही र सम्बन्धित शिक्षामन्त्रीको राजीनामा मागेका छन्।

प्रतिक्रिया दिनुहोस्