प्लाज्मा बैंक बनाउन र मास्क वितरण गर्न सुझाव



काठमाडाैँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणबारे आज मन्त्रालयका उच्चअधिकारीसहित स्वास्थ्य क्षेत्रका विज्ञसँग भर्चुअल छलफल गरी सामूहिक प्रयासका लागि आह्वान गरेका छन । मन्त्री ढकालले सबैको प्रयासले नै कोभिड १९ नियन्त्रणमा सफलता मिल्छ भन्दै निरन्तर सुझावको अपेक्षा राख्दै नियन्त्रणमा देखापरेका चुनौतीको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताए ।

कोरोनाविरूद्ध अग्रपङ्क्तिमा खटिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाइ धन्यवाद दिँदै सबैले उनीहरूको हौसला बढाउनुपर्ने बताए । छलफलमा डा महेश मास्केले सूचना व्यवस्थापन राम्रोसँग गर्नुपर्ने बताए । उनले कोरोना सङ्क्रमण नियन्त्रणभन्दा बाहिर नगएको जनाउँदै सङ्क्रमितको सङ्ख्या धेरै देखिए पनि सङ्क्रमणको दर घट्दोक्रममा रहेको बताए ।

उहाँले कोरोना नियन्त्रणका लागि मन्त्रालयले गरेको प्रयास प्रभावकारी रहेको र सबैले सरकारको अभियानमा सहयोग गर्नुपर्ने बताए । विज्ञ प्रा डा जीवन शेरचनले सरकारले निःशुल्क मास्क वितरणको व्यवस्था मिलाउनुपर्ने बताए ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा भगवान कोइरालाले दशैँलगायत महत्वपूर्ण चाड नजिकै आइसकेका सन्दर्भमा स्वास्थ्य मापदण्ड बनाएर नागरिकलाई सहजीकरण गर्नुपर्ने बताए । उनले अस्पताल सङ्क्रमण रोकथामको काम गर्दै प्लाज्मा थेरापीका लागि प्लाज्मा बैंक बनाउनुपर्नेमा जोड दिए ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष लोचन कार्कीले स्वास्थ्यकर्मीको सुरक्षाको सवालमा अलि बढी ध्यान दिनुपर्ने बताए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा अनुप बाँस्तोलाले भेन्टिलेटरमा जानेभन्दा पनि अक्सिजन थेरापीलाई महत्वका साथ अघि बढाउनुपर्ने बताउँदै अक्सिजन थेरापी भेन्टिलेटरभन्दा राम्रो र प्रभावकारी रहेको विचार राखे ।

प्रतिक्रिया दिनुहोस्