हत्या गरी जंगलमा लुकेका व्यक्ति पक्राउ



दार्चुलाः हसिया प्रहार गरी एक जनाको हत्या भएको छ । बिहीबार अपरान्ह ४ बजे शैल्यशिखर नगरपालिका २ का ४५ वर्षीय शेरबहादुर चन्दको हत्या भएको हो ।

सोही स्थानका ४३ वर्षीय गंगादत्त भट्टले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदम बहादुर बिष्टले जानकारी दिए । ‘उनीहरूबिच सानोतिनो कुराबाट झगडा सुरू भई उग्र रूप लिदा हत्यासम्म पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डिएसपी बिष्टले भने ।

भट्टले चन्दलाई हसियाले घाँटीमा प्रहार गरेका थिए । घाइते चन्दलाई शैल्यशिखरस्थित अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । हत्या गरी उनी जंगलमा गएर लुक्न गएका थिए ।
प्रहरीको टोलीले शुक्रबार मध्यान्ह १२ बजेतिर जंगलमा बसिरहेका उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भैरहेको छ ।

प्रकाशितः १२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्