शनिबार मात्रै कोरोना संक्रमणबाट २० जनाको मृत्यु



काठमाडौं : नेपालमा शनिबार कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको पुष्टि भएको छ । शनिबार पर्सा र महोत्तरीका तीन–तीन जना र काठमाडौं, भक्तपुर र ललितपुरका दुई–दुई जनाको मृत्यु भएको छ । त्यस्तै सिरहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ रौतहट र नवरपुरका एक–एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने नियमित प्रेस ब्रिफिङमा १२ जनाको मृत्यु भएको बताएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यसमा महोत्तरीका ३का साथै पर्सा, बारा, मोरङ, रौतटह र नवलपुरका एक–एक जनाको तथ्यांक जोड्न बाँकी छ ।

मृत्यु हुनेहरुमा काठमाडौं–२१ जैशीदेवल काठमाडौंकी ५१ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । ३० साउनमा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनी उच्च रत्तचापकी बिरामी थिइन् ।

यसैगरी गरी काठमाडौं–३ बसुन्धराका ८३ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा मृत्यु भएको छ । बीपी स्मृति सामुदायिक अस्पतालमा उपचारत उनलाई शुक्रबार मात्र बलम्बुमा सारिएको थियो ।

भदौ ८ गते पाटन अस्पताल भर्ना भएकी भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार उपचारका क्रममा मृत्यु भएको छ ।

साथै शुक्रबार भक्तपुर अस्पतालमा मृत्यु भएका भक्तपुर–३ भक्तपुरका ८२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल पुगेका मधुमेहका बिरामी उनलाई निमोनिया समेत भएको थियो ।

यसैगरी बिहीबार मृत्यु भएका ललितपुर–३२ धापाखेलका ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ ११ गते पाटन अस्पताल भर्ना भएका र सोही दिन उनको मृत्यु भएको थियो । मृत्यु भएको भोलिपल्छ अर्थात भदौ १२ गते उनमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै महालक्ष्मी–१ ललितपुरका ६१ वर्षीय पुरुषको काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको छ । मधुमेहका बिरामी उनी ७ गते अस्पताल भर्ना भएका थिए र ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

सिरहा भदौया–६ का ८४ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि भदौ ६ गते अस्पताल भर्ना भएको भोलिपल्ट कोरोना पुष्टि भएको थियो ।

पाल्पा तानसेन–८ की ३० वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेजमा शनिबार मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण दखिएपछि भर्ना भएकी महिलाको भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।

यसैगरी पोखरा–१४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । भदौ ७ गते पेटको अपरेशन गरेका उनलाई १० गते कोराना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

वीरगञ्ज–२६ का ४८ वर्षीय पुरुषको वीरगञ्ज हेल्थकेयर अस्पतालमा मृत्यु भएको छ । नेशनल मेडिकल कलेजबाट रिफर भएर कोरोना विशेष अस्पतालमा आएको उनको मृत्यु भएको हो ।

वीरगञ्ज–१२ का ३९ वर्षीयको काठमाडौं ल्याउने क्रममा बाटैमा मृत्यु भएको छ । तराई अस्पतालमा उपचाररत उनलाई शुक्रबार वीरगञ्ज हेल्थकेयरमा ल्याइएको थियो । तर, स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारको लागि काठमाडौं ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो ।

वीरगञ्ज–१२ की ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको छ । पखाला र श्वासप्रश्वासमा समस्या आएपछि शक्रबार दिउँसो अस्पताल भर्ना भएकी थिइन् । उनमा रक्तचाप समेत निकै कम थियो ।

त्यस्तै गोरखा नगरपालिका–१३ का ३८ वर्षीय पुरुषको भरतपुर अस्पताल चितवनमा शुक्रबार मृत्यु भएको छ । भदौ ६ गते अस्पताल भर्ना भएका उनमा भदौ १० गने कोरोना पोजेटिभ देखिएको थियो ।महोत्तरीकी ६

२ वर्षीया महिलाको शनिबार दिउँसो १ः३० बजे पाटन अस्पतालमा मृत्यु भएको छ ।

यसैगरी महोत्तरी पिपरा गाउँपालिका–७ का ७० बर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । उनको प्रादेशिक अस्पताल जनकपुरधाममा शुक्रबार मृत्यु भएको थियो ।

महोत्तरी भंगहा नगरपालिका–१ का ३५ बर्षीय पुरुषको मृत्युपछि संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकीका साथै सास फेर्न समस्या भएपछि उनलाई शुक्रबार प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा शनिबार मृत्यु भएको थियो ।

निजगढ बाराकी ४७ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । मृगौला रोगबाट पीडित उनलाई डायलालसिस गर्न गत साउन २७ गते अस्पताल ल्याइएको थियो । त्यही क्रममा उनमा कोरोना पुष्टि भएको र उपचार भइरहेको थियो ।

मोरङ पथरी शनिश्चरे–२ का ६१ वर्षीय पुरुषको शनिबार न्यूरो अस्पताल विराटनगरम मृत्यु भएको थियो । उनमा मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको हो । भदौ ३ गते अस्पताल भर्ना भएका उनको कोरोना परीक्षणका लागि बिहीबार नै स्वाब संकलन गरिएको थियो, तर शनिबार बिहान मृत्यु भएका उनको दिउँसो पोजेटिभ रिपोर्ट आएको छ ।

रौहतटका गम्हरिया– ३ का ३० वर्षीय पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयर वीरगञ्जमा शनिबार राति मृत्यु भएको छ । भदौ ११ गते नारायणी अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि शुक्रबार कोभिड अस्पताल सारिएको थियो ।

नवलपुर विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा शनिबार साँझ मृत्यु भएको छ । निमोनिया भएर भदौ ४ गते अस्पताल भर्ना भएका उनको सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । शनिबार मात्रै कोरोना संक्रमण पुष्टि भएका उनका साँझ मृत्यु भएको हो ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्