सिराहामा नेकपा र जसपा समूहबीच झडप, नौ जना घाइते



सिराहा : सिराहामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी समूहबीच झडप भएको छ ।

सिराहाको सीमावर्ती भगवानपुर गाउँपालिका– २ लहरा गाउँमा सडकछेउको रूखको छहारीमा बसेको सामान्य विवादमा शनिबार दिउँसो दुई पक्षबीच झडप हुँदा नौ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर रिफर गरिएको छ ।

लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा सामान्य उपचार गरी तीन जनालाई विराटनगरस्थित विराटन नर्सिङ होम रेफर गरिएको छ । त्यस्तै बाँकी ६ जनाको नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ ।

लहान प्रहरीकाअनुसार विराट नर्सिङ होममा लरहा गाउँका कुन्देश्वर यादव, जोगिन्दर यादव र किशोर यादवको उपचार भइरहेको छ । घाइते सबैको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

त्यस्तै, नोबेल अस्पतालमा वर्ष देवचन्द्र यादव, बच्चालाल यादव, जसीलाल यादव, श्यामसुन्दर यादव, छविल यादव र सञ्जीवकुमार यादवको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बच्चालालको बायाँहात भाँचिएको र सञ्जीवको टाउकोमा गहिरो घाउ भएकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सुझाएको बिरामीको कुरुवा बसेका लरहाका लालबहादुर यादवले बताए ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्