इण्डियन प्रिमियर लिग : राहुलको उत्कृष्ट प्रदर्शनमा पन्जाबद्वारा मुम्बई पराजित



काठमाडौं : ओपनर केएल राहुलले उत्कृष्ट प्रदर्शन गरेपछि इण्डियन प्रिमियर लिगको नवौं खेलमा किंग्स इलाभेन पन्जाबले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ। मुम्बईले प्रस्तुत गरेको १ सय ७७ रनको मध्यम लक्ष्य पछ्याएको पन्जावले १८.४ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो।

पन्जाबलाई जिताउन ओपनर केएल राहुलले अर्धशतकिय पाली खेले। उनले ५७ बलमा ६ चौका र १ छक्काको मद्दतमा ७१ रनमा अविजित रहे। क्रिस गेलले २४ बलमा ४ छक्का र ३ चौकाका साथ ४० तथा मंयक अग्रवालले २१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४३ रन जोडे। डेविड मिलर १५ रनमा अविजित रहे। मुम्बईका लागि क्रुनाल पाण्ड्याले २ विकेट लिए।

त्यसअघि पन्जावको घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो। मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६० रनको अर्धशतकिय योगदान दिए।

डी ककलाई १३ ओभरको अन्तिम बलमा मोहम्मद सामीले बोल्ड आउट गर्दै पेभिलिएन फर्काए। कप्तान रोहित शर्मा ३२, सुर्यकुमार यादव ११, युवराज सिंह १८, किरण पोलार्ड ७ रनमा आउट भए। क्रुनाल पाण्ड्याले १० र हार्दिक पाण्ड्याले ३१ रनको योगदान दिए। हार्दिकले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

पन्जावका लागि मरुगुन आश्विन, हार्डस विलजोन र मोहम्मद शामीले समान २ तथा एन्ड्रयु टाईले १ विकेट लिए। यो पन्जावको दोस्रो जित हो। पहिलो खेलमा राजस्थान रोयल्सलाई १४ रनले हराउँदा कोलकता नाइट राइडसँग २८ रनले पराजित भएको थियो। त्यस्तै यो मुम्बईको दोस्रो हार हो। यसअघि मुम्बई दिल्लीसँग ३७ रनले पराजित हुँदा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ रनले हराएको थियो। 

प्रतिक्रिया दिनुहोस्