आधुनिक चुल्होले सुधारिएको महिलाको स्वास्थ्य



दैलेख : घरभित्र र बाहिरको धुवाँ र धुलाका कारण मानव शरीरमा विभिन्न खाले समस्या बढ्दै गएका छन् । धुलोधुवाँकै कारण सबैभन्दा धेरै श्वासप्रश्वासको समस्या बढ्दै गएको छ । घरभित्र व्यस्त हुनुपर्ने महिलामा उमेर ढल्केसँगै दमको रोग लाग्ने गरेको छ । यसको मुख्य कारण अव्यवस्थित र परम्परागत चुल्हो नै रहेको निष्कर्षसहित तीन पालिकामा आधुनिक चुल्हो निर्माणको काम थालिएको छ ।

नौमूले, भैरवी र भगवतीमाईमा करीब एक हजार घरमा धुवाँरहित आधुनिक चुल्हो निर्माण सम्पन्न भइसकेको छ । दश वर्षदेखि पुरानै चुल्हामा खाना पकाउँदै आएका जैसरा कार्कीले नयाँ चुल्हामा खाना पकाउन निकै सजिलो भएको बताए । आगो धेरै फुक्नु नपर्ने, धुवाँ नहुने र दाउरा पनि काम लाग्ने बताए । गृहिणी कमला योगीको पनि आधुनिक चुल्हामा बस्दा एक दिन पनि आँखाबाट आँशु झर्न नपरेको अनुभव छ ।

खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्दै आएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले अहिले आधुनिक चुल्हो, भाँडा राख्ने चाँङ निर्माण र भाँडा माझेको पानी जम्मा गरेर करेसाबारीमा झार्ने अभियानलाई एकैसाथ अगाडि बढाएको छ । सुधारिएको चुल्हो बनेपछि घरभित्रको भान्सामा काम गर्ने महिलालाई धेरै सजिलो मात्र नभई स्वास्थ्य सुरक्षा पनि हुने आशा गरिएको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिए ।

परियोजनाका जिल्ला सल्लाहकार लक्ष्मीचन्द्र महतले तीन पालिकासँग समन्वय गरेर आधुनिक चुल्हो निर्माण शुुरु गरिएको बताए । भगवतीमाई– ६, नौमूले– २ र भैरवी – १ मा एक हजार घरमा आधुनिक चुल्हो निर्माण गरिएको हो ।

दैलेख कोरोना सङ्क्रमणको ग्रीनजोन बनेका बेलामा हातधुने र सरसफाइ अभियानले अहिले झनै तीव्रता पाएको छ । भैरवी– ३ का बस्तीमा जाने जोसुकै नयाँ मानिसले पहिला हात धुनुपर्छ । साबुनपानीले राम्रोसँग हात धोएर सफा भएपछि मात्र अन्य विषयमा कुराकानी हुन्छ ।

गाउँमा घर नजीकै सिमेन्टको भाँडा राख्ने चाँङ बनाएको देखिन्छ । त्यसमाथि भाँडा सुकाइएको हुन्छ । सानो बाल्टीमा पानी र नजीकै साबुन राखिएको हुन्छ । घरमा आउने नयाँ मानिसका लागि अनिवार्य हात धुनुपर्ने नियम सबै वडामा बनाइएको गृहिणी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्