भरतपुरका अस्पताल धाउँदाधाउँदै बिरामीको मृत्यु



भरतपुर : मेडिकल सिटीका रूपमा परिचित चितवन भरतपुरमा उपचार नपाएर एक बिरामीको मृत्यु भएको छ । शनिबार रातभर एम्बुलेन्समा एक अस्पतालबाट अर्को अस्पताल धाउँदाधाउँदै भर्ना नपाएपछि आइतबार बिहान उनको मृत्यु भएको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती–३ शिवमन्दिरका ५४ वर्षीय होमबहादुर गुरुङ राति ११ बजेतिर एक्कासि बेहोस भए । तत्कालै उनको परिवारले स्थानीय कालीगण्डकी अस्पताल पुर्‍याए, चिकित्सकले भरतपुर रेफर गरे  । उनलाई लिएर पत्नी माया र भाइ टेकप्रसाद भरतपुर आए । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) पुर्‍याए । अस्पतालले बेड खाली नभएको बताउँदै एम्बुलेन्सबाट झर्नै नदिई अर्को अस्पताल जान भन्यो । त्यसपछि उनीहरू बिरामी लिएर नारायणी सामुदायिक अस्पताल पुगे । तर, अस्पतालले तीनजना चिकित्सक क्वारेन्टाइनमा रहेको बताउँदै फर्काइदियो ।

त्यसपछि उनीहरू मनकामना अस्पताल पुगे । त्यहाँ पनि आइसियू नभएको भन्दै भर्ना लिइएन । फेरि उनीहरू कलेज अफ मेडिकल साइन्सेस पुगे । आइसियू नभएको र चिकित्सक आइसोलेसनमा बसेको बताउँदै त्यहाँ पनि उपचार भएन । त्यसपछि फेरि सिएमसी फर्किए । तर, सिएमसीले दोस्रोपटक पनि भर्ना लिन मानेन ।

त्यसपछि उनीहरू सरकारी भरतपुर अस्पताल गए । झन्डै दुई घन्टा सरकारी अस्पतालअगाडि उनीहरूले एम्बुलेन्समै बिताए । प्रहरीको १०० मा फोन गरेपछि अस्पतालले बिरामी त लियो, तर आइसियू र भेन्टिलेटर नभएको बताउँदै आकस्मिक कक्षमा राखियो । बिहान ६ बजे स्वास्थ्यकर्मीले होमबहादुरलाई जन्डिस देखिएको बताए । इमर्जेन्सीमा उपचार गर्दागर्दै सिएमसीमा आइसियू खाली भएको जानकारी पाए । अर्को एम्बुलेन्स खोजेर होमबहादुरलाई त्यहीँ पु¥याइयो ।

तर, उनलाई त्यति बेलासम्म एक सय एक डिग्री ज्वरो देखियो । ज्वरो भन्ने थाहा पाउनासाथ होमबहादुर र उनको परिवारनजिक पनि कोही परेन । दुई घन्टासम्म बेवारिसे अवस्थामै उनलाई सिएमसीमा राखियो ।

अचानक ९ बजेतिर होमबहादुरका परिवार रुन, कराउन, चिच्याउन थाले । त्यसपछि भित्रबाट स्वास्थ्यकर्मी आएर छाती थिच्न थाले । 

अस्पतालभित्र लगेर बचाउन खोजेजस्तो गरे । तर, उनको मृत्यु भइसकेको थियो । सिएमसीका अस्पताल निर्देशक डा. दयाराम लम्साल अस्पतालबीच समन्वय नहुँदा यस्तो भएको दाबी गर्छन् । बिरामीलाई आफ्नो अस्पतालमा देख्नेबित्तिकै आफैँले उपचारका लागि लगेको उनको दाबी छ ।नयाँ पत्रिका दैनिकमा विवेक पोख्रेलले लेखेका छन् ।

प्रकाशित : भदौ १५, २०७७

प्रतिक्रिया दिनुहोस्