शिक्षक अपहरणको आरोपमा ८ जना पक्राउ



सिन्धुलीः विद्यालयका शिक्षक अपहरणमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द विप्लव समूहका ८ जना कार्यकर्ता पक्राउ परेका छन् ।

दुई दिनअघि सिन्धुलीको तीन पाटन गाउँपालिका ८ तिल्पुङ्गडाँडाको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई विद्यालयबाटै अपहरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये ७ जना पुरुषलाई फिक्कल गाउँपालिका १ महादेवडाँडाबाट र एक जना महिलालाई तीनपाटन गाउँपालिका ८ लायोगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ परेका उनीहरुको साथबाट पाँच थान सुतली बम, दुई वटा सकेट बम र आठ थान बम बनाउन प्रयोग गरिने सकेट बरामद गरिएको प्रहरीको भनाइ छ । प्रधानाध्यापक भण्डारी लायोगाउँबाट अपहरणमुक्त भएका थिए । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशितः १५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्