पहिलो पटक जनकपुरमा खाद्य मेला हुने



जनकपुरधाम : धनुषाको जनकपुरमा पहिलो पटक खाद्य मेला आयोजना हुने भएको छ । चैत २२ गतेदेखि २४ गतेसम्म तिरहुतिया गाछीमा आयोजना हुने मेलामा विभिन्न समुदायको परम्परात खानाको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।

सङ्घीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनुषाद्वारा ‘परम्परागत, पोसिला एवं स्थानीय खाद्य पदार्थको प्रवर्द्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौँ’ मूल नाराका साथ मेला आयोजना गर्न लागिएको हो ।

विभिन्न समुदायको प्रचलनमा रहेका खाद्य पदार्थ एवं तिनका पौष्टिक महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न मेला आयोजना गर्न लागिएको कार्यालयका प्रमुख ज्ञानेन्द्रप्रसाद मण्डलले जानकारी दिए ।

खाद्य मेला हिमाल, पहाड र तराइका परम्परागत खानेकुरामा आधारित रहने बताइएको छ । मेलामा देशभरिबाट खाद्य पदार्थका ५० सँगै खाद्य प्रशोधनमा प्रयोग हुने रसायन र प्रविधिसँग सम्बन्धित शैक्षिक उपकरणहरूको स्टल पनि रहने आयोजकले जानकारी दिएको छ ।

मेलामा खाद्य पदार्थहरूको विविधिकरण तथा पौष्टिक महत्त्व, विभिन्न जातजातिसँग सम्बन्धित परम्परागत पोसिलो खाद्य पदार्थ, आफ्नो संस्कृति झल्काउने खानपानसहित मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्