पोखरामा हुने फेवा महोत्सवमा जनकपुरलाई निम्तो



जनकपुरधाम : नयाँ बर्षको अवसरमा पोखरामा आयोजना हुन लागेको फेवा महोत्सव २०७६ को निम्तो बाँड्न जनकपुरधाम आएको पश्चिमाञ्चल होटल संघले पोखरामा जनकपुरधामको प्रचारप्रचार गर्न आग्रह गरेको छ । 

आन्तरिक पर्यटन प्रर्बद्धन गर्दै फेवा ताल सहित विभिन्न प्राकृतिक पर्यटकीय स्थलको संरक्षण र सम्बद्धन गर्ने उद्धेश्य राखेर आयोजना गरिने महोत्सवमा जनकपुरसँग जोडिएको मिथिला क्षेत्रको खानपीन र पर्यटकीय स्थलको प्रचार गर्न आग्रह गरिएको हो । 

साथै पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले महोत्सवमा सहभागी भएर आन्तरिक पर्यटन प्रबद्र्धन गर्न आग्रह गरेका छन् । कार्यक्रममा जाउँ है पोखरा अभियान अन्तर्गत पोखराका घुम्न जाने र पोखराबाट जनकपुर आउने पर्यटकहरुका लागि सवारी साधन सहितका सहज वातावरण बनाई दिन पनि सरोकारवाला निकायलाई आग्रह गरिएको छ । 

नेपाली संस्कृति, खाना र गीतसंगीतको प्रबद्र्धन गर्ने उद्धेश्य सहित संघले चैत २९ देखि बैशाख १ गतेसम्म पोखराको फेवा ताल किनारस्थित कोमागाने पार्कमा १६ औं फेवा नव बर्ष महोत्सव २०७६ आयोजना गर्दैछ ।

पत्रकार सम्मेलनमा गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक पर्यटन बर्ष २०१९ र संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन पोखरासँगसँगै जनकपुरधामको प्रचार पनि जरुरी रहेको औंल्याइएको थियो ।

फेवा महोत्सवमा नेपालका विभिन्न समुदाय र जातिको परम्परागत खानाको प्रवद्र्धन, सास्कृतिक झाँकी, गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता, पर्यटक दौड, डुंगा दौड, लोकदोहोरीलगायत विभिन्न प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्