कर्मचारीको आन्दोलनका कारण वीरगन्ज महानगरपालिका ठप्प



वीरगन्ज : विगतमा भएको सहमति कार्यान्वयन नभएपछि आइतबारदेखि वीरगन्ज महानगरपालिकाका कर्मचारीहरू पुनः आन्दोलनमा उत्रेका छन् । महानगरपालिकाको बोर्डले गरेको निर्णय कार्यान्वयन नभएको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएको स्थानीय तह कर्मचारी संघका अध्यक्ष मुकेश गुप्ताले बताए । 

नेपाल नगरपालिका कर्मचारी एसोसिएसन र स्थानीय तह कर्मचारी संघ नेपालमा आबद्ध साढे पाँच सय कर्मचारीहरू कार्यालयका सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलनमा उत्रेका हुन । कर्मचारीको आन्दोलनका कारण आइतबार आकस्मिक बाहेक सम्पूर्ण सेवाहरू ठप्प भए । 

बारुद यन्त्र, शिक्षा, स्वास्थ्य चौकी, बिहानको एक पटक सरसफाइ र लामखुट्टे नियन्त्रणका लागि भइरहेको स्प्रे बाहेकका सबै कामकाज ठप्प गरिएको संघका अध्यक्ष गुप्ताले बताए । कर्मचारीहरूको आन्दोलनका कारण सेवा लिन महानगरपालिकामा पुगेर सेवाग्राही रित्तो हात फर्किन बाध्य भएका थिए । 

२०७५ पुस ३० गते भएको निर्णय कार्यान्वयन गर्न यही चैत्र ११ गते तीन दिने अल्टिमेटमसहित प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण गराएपनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आफूहरू आन्दोलनमा उत्रिनु परेको आन्दोलनरत कर्मचारीको भनाइ छ । 

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले भने कर्मचारीको माग सम्बन्धमा कार्यपालिका बोर्डबाट निर्णय भए पनि कार्यान्वयन गर्न कानुनी आधार नभएको बताएका छन् । कर्मचारीहरूको माग पुरा गराउन एक साता अघि नै बोर्डले गरेको निर्णयको विषयमा मन्त्रालयमा लिखित जानकारी गराएकाे उनको भनाइ छ ।

स्थानीय तहमा कार्यरत कर्मचारीको हकहित, वृत्ति विकास, दरबन्दी र सङ्गठन तालिका सम्बन्धमा पटक पटक आन्दोलन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्