१५ तस्विरमा हेर्नुहोस् हावाहुरीको वितण्डा, पर्सा र बारामा २५ जनाको मृत्यु, ४ सय बढी घाइते



वीरगञ्ज : आइतबार साँझ एक्कासि आएको हावाहुरीका कारण पर्सा र बारामा २५ जनाको मृत्यु भएको छ । बारा र पर्साका विभिन्न स्थानमा आएको हावाहुरीका कारण २५ जनाको मृत्यु भएको र ४ सयभन्दा बढी घाइते भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गरेका छन् । 

मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने घाइतेको उद्धार भइरहेको बताइएको छ । उनीहरूलाई उपचारका लागि नजिकैको अस्पताल पुर्‍याउने काम भइरहेको बताइएको छ । 

ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको हो । हुरीका कारण आपतमा परेकाहरूको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएका छन् । 

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ऑधि/हुरीबाट धनजनको अकल्पनीय क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, ‘यस आकस्मिक क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दछु। उद्धारमा सुरक्षाकर्मीहरू परिचालित भइसकेका छन्।’

उद्धारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन समेत प्रधानमन्त्रीले निर्देशन गरेको ट्विटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्