जोखिम बढेपछि कारागारमा उच्च सतर्कता



चितवन : कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कारागार कार्यालय चितवनमा उच्च सतर्कता अपनाइएको छ । क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी रहेको कारागारमा कोरोनाको जोखिम बढेसँगै उच्च सतर्कता अपनाइएको हो ।
जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा कैदीबन्दीमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले उच्च सावधानी अपनाइएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले बताए । सङ्क्रमण शुरु हुने समयमा नै कैदीबन्दीलाई आफन्तसँगको भेटघाटलाई पूर्ण बन्द गरिएको थियो । गत चैत महिनादेखि नै कैदीबन्दीलाई भेटघाट बन्द गरिएको छ ।

यस्तै कैदीबन्दीलाई पैसाबाहेक अन्य केही दिन पाइने छैन । भित्र ल्याउने सामानमा समेत सेनिटाइज गरेर मात्र पठाइने गरिएको छ । कर्मचारीलाई अत्यावश्यक कामबाहेक कार्यालय नआउन र घरमै बस्न भनिएको काफ्लेले जानकारी दिए । अस्पताल र कारागार पठाउनैपर्ने जटिल बिरामीलाई पिसिआर परीक्षण गरेर मात्र पठाउने गरिएको छ भने अन्य बिरामीलाई आन्तरिकरुपमा औषधिको व्यवस्था गरेर अस्पताल पठाउन बन्द गरिएको छ ।

चिकित्सकले सिफारिस गरेका औषधि कारागारमै ल्याएर नियमित खानेलाई दिने गरिएको छ । औषधि खानेलाई एउटा ब्लक, सरूवा रोग भएकालाई अर्को र अदालतबाट नियमित आउने थुनुवालाई क्वारेन्टिनका रुपमा छुट्टै ब्लकमा राख्ने गरिएको काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्