पुजारीको हत्या प्रकरण : दुई जना सार्वजनिक



रौतहट : पुजारी हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार दुई जनालाई सार्वजनिक गरेको छ। हत्यामा संलग्न रहेको आरोपमा रौतहटको देवाहि गोना नगरपालिका- १ करुनियाका ३६ वर्षीय नरेश पटेल र २८ वर्षीय बालकुमार  पटेललाई सार्वजनिक गरेको छ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई बिहान १० बजे रौतहटको बौधिमाइ नगरपालिका- ७ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ। राम नरेश पटेलले कटुवा पेस्तोलले गोली प्रहार गरेको र बाल कुमारले बाटोमा बसेर मानिसको आवतजावत हेरेको प्रहरीले जनाएको छ।

राम नरेशले पुजारीसँग व्याजमा पैसा लिएको त्यस विषयमा विवाद रहेको, मन्दिर नजिकै रक्सि पसल रहेको रक्सी सेवन गरी उनीहरुले विवाद गर्ने गरेको, मन्दिरको धारामा हात धुने विषयमा विवाद भएको, गाउँमा विभिन्न बिषयमा छलफल हुँदा पुजारीले फरक मत राख्ने गरेकोले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्य फरार रहेको खोजी भइरहेको प्रदेश २ प्रहरी प्रवक्ता डिएसपी अंशुकुमार सिंहले जनाएका छन्। पक्राउ परेकाहरु माथि अनुसन्धान गर्न १० दिनको म्याद थप गरिएको छ।

रौतहटको माधवनारायण नपा- २ खेसरहियाटोलस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको भदौ ३ गते राति गोली हानी हत्या भएको थियो। राति करिव ९ बजे खाना खाइरहेको अवस्थामा साहको कन्चटमा गोली हानेर हत्या गरिएको थियो।

प्रहरीले बुधबार बिहान १० बजे बोधिमाई नपाको बंकुलबाट उनीहरुलाई पक्राउ गरेको जनाएपनि केहिदिन अघि भारतको बिहारबाट भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरी नेपाल ल्याएको सार्वजनिक भएको थियो।  अन्नपूर्णपोष्ट दैनिकमा फणि महतले लेखेका छन् ।

प्रकाशित : भदौ १८, २०७७

प्रतिक्रिया दिनुहोस्