उपत्यकाको निषेधाज्ञा केही खुकुलो, यस्ता छन् गर्न पाइने कामहरु



काठमाडौँ : काठमाडौं उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञालाई भने केही खुकुलो बनाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले उपत्यका कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा बढाएको हो ।

भदौ ३ गतेबाट जारी निषेधाज्ञा आगामी २४ गते मध्य रातिसम्म कायम गर्ने निर्णय भएको छ ।

काठमाडौंका प्रजिअ जनकराज दाहालले यस पटकको निषेधाज्ञाका केही प्रावधानमा खुकुलो पारिएको बताए । तर, मानिसको आउजाउमा भने कडाई गरिने उनले जानकारी दिए । उनका अनुसार अबको समयमा होटल/रेस्टुराँमा टेक–अवे तथा होम डेलिभरीको सेवा सञ्चालन गर्न अनुमति दिइने छ ।

त्यस्तै अब बिहान ११ बजेसम्म दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्न पनि दिइने छ । यसअघि त्यस्ता सेवाहरु बिहान ९ बजेर १५ मिनेटसम्म मात्रै संचालन गर्न पाइन्थ्यो ।

यस्तै भारत र नेपालका विभिन्न स्थानबाट निर्माण सामग्री लिएर आउने सवारी साधनलाई उपत्यकामा प्रवेश गर्न दिइने छ । निर्माण सामाग्रीसँग सम्बन्धित हार्डवेयर पसल दिउँसो २ बजेदेखि राति ९ बजेसम्म खोल्न दिइने छ । शिक्षा मन्तालायको प्रोटोकलअनुसार अनलाईन कक्षा सञ्चालन गर्न पनि दिइने छ । विदेशबाट पीसीआर परीक्षण नगरी आएकालाई यही परीक्षण गर्न दिने गरी नेपाल आउन अनुमति दिइने छ । त्यस्तै राष्ट्रिय गौरवका आयोजना र अत्यावश्यक निर्माणका काम पनि स्वास्थ्य मापदण्ड पालना गरेर अघि बढाउन सकिने छ ।

दाहालसहित भक्तपुरकी प्रजिअ हुमकला पाण्डे र ललितपुरका नारायणप्रसाद भट्टको संयुक्त बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधि बढाउनु अघि तीनवटै जिल्लाका प्रजिअले गृह मन्त्रालयमा छलफल गरेका थिए । उपत्यका मेयर फोरमले निषेधाज्ञालाई यथावत राख्नुपर्ने सुझाव दिएको थियो । तर उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले खुकुलो बनाउदै लैजानुपर्ने माग राखेका थिए । दुईतिरबाट फरक–फरक सुझाव आएपछि प्रजिअहरु गृहबाट निर्देशन भएअनुसार अघि बढ्ने निष्कर्षमा पुगेका थिए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रमक रोग ऐन २०२० को दफा २ अनुसार निषेधित आदेश जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ । यसअघिका दुईपटकका आदेश यीनै दफा टेकेर गाइएपनि यसपटक भने प्रजिअहरुले गृहको औपचारिक अनुमति लिएर मात्रै निर्णय गरेका हुन् ।

भदौ ३ देखि उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा ठप्प छन् । पछिल्लो दुई साता यता उद्योग/कलकारखानासहित बस्तु र सेवा प्रवाह गर्ने सबै क्षेत्र बन्द छन् । कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

प्रकाशित : भदौ १८, २०७७

प्रतिक्रिया दिनुहोस्