सचिवालयमा बामदेवको पल्लाभारी : ओली नैतिक परिबन्धमा



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली परिबन्धमा परेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जाने ईच्छा दोहोर्‍याएपछि प्रधानमन्त्री ओलीलाई नैतिक परिबन्धले घेरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्य बनाउने र डा. युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने प्रधानमन्त्री केपी ओलीको योजनामा थियो । तर, ठीक यही बेलामा वामदेव गौतम ‘कवाफमा हड्डी’ बनेर उभिएका छन् ।

नेकपाभित्र विकसित पछिल्लो घटनाक्रम र सचिवालयको शक्ति सन्तुलनले खतिवडालाई निरन्तरता नदिन प्रधानमन्त्री ओलीमाथि दबाब बढेको छ ।

संकटका वेला आफूलाई साथ दिएका उपाध्यक्ष गौतमले आफ्नो दाबेदारी पेस गरेपछि ओलीले विभिन्न विकल्पमा समेत छलफल थालेका छन् ।

पूर्ववत निर्णयअनुसार आफू राष्ट्रिय सभा सदस्य भई सरकारमा जाने उपाध्यक्ष गौतमले सार्वजनिक रूपमै दाबी गरेपछि प्रधानमन्त्री ओलीमाथि ठूलै नैतिक दबाब परेको छ ।

फागुनमा राष्ट्रियसभामा पुनःनियुक्त हुन नपाए पनि डा। खतिवडा ‘सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने’ संविधानको प्रावधानअन्तरगत अर्थमन्त्रीमा पुनः नियुक्त भए । तर, उनको यो ६ महिने कार्यकाल पनि यही २० भदौमा सकिँदैछ । खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन २० भदौसम्म राष्ट्रिय सभा सदस्य बनाउनैपर्छ ।

खतिवडाको कार्यकाल सकिनै लाग्दा र प्रधानमन्त्रीले राष्ट्रिय सभामा पठाउने तयारी गरिरहेका वेला उक्त सिटमा उपाध्यक्ष गौतमले दाबी पेस गरेर प्रधानमन्त्री ओलीलाई खतिवडाबारे पुनर्विचार गर्नुपर्ने ठाउँमा पुर्‍याइदिएका छन् ।

यद्यपि बुधबार साँझसम्म ओलीले पार्टीका अन्य नेतालाई खतिवडाको पक्षमा सहमति गर्न आग्रह गरेका थिए। ओली खतिवडालाई अर्थमन्त्रीमा निरन्तरताको पक्षमा छन् ।

तर, नौ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओली र ईश्वर पोखरेलबाहेक सात सदस्य गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने पक्षमा छन् । सचिवालयमा गौतमको पल्लाभारी देखिएको छ ।

सचिवालयका बहुमत सदस्य अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष गौतम आफैँ, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल गौतमको पक्षमा छन् ।

‘पार्टी उपाध्यक्षको विकल्पमा खतिवडालाई अगाडि बढाउन धेरै जटिल भएको छ,’ सचिवालयका एक नेताले भने, ‘त्यसमाथि नौ सदस्यीय सचिवालयमा सात–दुईको अवस्था छ । यसलाई प्रधानमन्त्रीले क्रस गर्न गाह्रो हुन्छ ।’

बुधबार ओलीले गौतम र खतिवडा दुवैलाई राष्ट्रिय सभामा पठाउने विकल्पबारे पनि छलफल गरेका थिए । राष्ट्रिय सभाका कुनै सदस्यलाई राजीनामा गराएर उपाध्यक्ष गौतमलाई पनि पठाउन सकिने प्रधानमन्त्री ओलीको एउटा विकल्प थियो ।

राष्ट्रिय सभामा गौतम कि खतिवडा भन्ने दुवै पक्षका आ–आफ्ना गृहकार्यबीच बिहीबार नेकपाको सचिवालय बैठक बस्दै छ । बैठकको पूर्वसन्ध्यामा दुई अध्यक्ष ओली र प्रचण्डबीच तथा अन्य शीर्ष नेताहरूबीच छलफल भए पनि राष्ट्रिय सभामा कसलाई पठाउने भन्ने सहमति बनेको छैन ।

ओली र प्रचण्डले बुधबार संयुक्त रूपमा अर्थमन्त्री खतिवडालाई पनि बालुवाटार बोलाएर भेटेका थिए । प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमसँग बालुवाटार र अध्यक्ष प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँग खुमलटारस्थित निवासमा बेग्ला–बेग्लै छलफल गरेका छन् ।

प्रचण्ड र नेपालबीच सचिवालय बैठकमा राष्ट्रिय सभामा गौतमलाई पठाउनेबारे १४ फागुनको निर्णय कार्यान्वयनको पक्षमा उभिने सहमति भएको छ ।

उता, प्रधानमन्त्री ओलीले भने उपाध्यक्ष गौतमलाई साँझ बेग्लै भेटेर मनाउने प्रयास गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेटेर गौतमले भने ,’म प्रतिनिधिसभामा लड्दिनँ, राष्ट्रियसभामा जान्छु र उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्छु ।’

बैठकमा पार्टी समस्या समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गर्ने एजेन्डा छ । कार्यदलले ६ भदौमा अध्यक्ष ओली र प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्