दाँत सफा गर्ने घरेलु विधि



एजेन्सी : सामान्यत हामी सौन्दर्यको कुरा गर्दा, स्वास्थ्यको कुरा गर्दा दाँतलाई पाखा लगाउँछौं । अर्थात सौन्दर्य र स्वास्थ्यको कुरामा दाँतलाई भुल्छौं । जबकी दुबैका लागि दाँतको भूमिका अहंम हुन्छ । जस्तो तपाईंको अनुहारको सौन्दर्यमा मिलेका दाँतले कति राम्रो भूमिका खेल्छ ? गीतहरुमा सौन्दर्यको वयान गर्दै भनिन्छ, ‘मिलेका ति दाँतका पंक्ति ।’ कथा/उपन्यासमा लेखिन्छ,‘अनारका दाना जस्तै मिलेका दाँतका पंक्ति ।’ यदी दाँत सफा, चम्किलो र मिलेको हुँदो हो त, तपाईं निर्धक्कसाथ हाँस्न सक्छाै । तर, दाँत नै खराब भएपछि हाँस्न पनि गाह्रो ।

कति खानेकुरा दाँतको चेपमा अल्झिएर बस्छ । यदि खानेकुरा खाएपछि राम्ररी मुख कुल्ला वा ब्रस नगर्दा त्यस्ता बस्तु दाँतभित्रै सड्न थाल्छ । यसैले दाँतमा संक्रमण हुन्छ । दाँत पहेंलो वा फोहोर हुन्छ । चुरोट, खैनी, मदिरा, गुट्खा, पान आदि सेवन गर्दा पनि त्यसले प्रत्यक्ष रुपमा दाँतलाई हानी गर्छ ।

दाँत सफा राख्न, चम्किलो बनाउन, स्वस्थ्य एवं बलियो बनाउन अस्पताल नै धाउनुपर्छ भन्ने छैन । घरमै उपलब्ध सामग्रीको प्रयोगबाट पनि दाँत सफा राख्न सकिन्छ ।

– घर आँगनमा पाइने तुलसीमा दाँतको पहेंलोपन हटाउने बिशेष क्षमता हुन्छ । यसले तपाईको दाँत तथा मुखको रोग पनि ठीक गर्छ । तुलसीको पात सुकाएर पाउडर बनाउने, त्यसलाई टुथपेस्टमा मिलाएर ब्रस गर्नुपर्छ ।

– सुन्तलाको बोक्रा र तुलसीको पातको मिश्रण पनि उपयोगी हुन्छ । दुबैलाई सुखाएर पाउडर बनाउनु पर्छ । यही पेस्टले ब्रस गर्ने तथा दाँतमा मसाज गर्नुपर्छ । यसमा रहेको भिटामिन सि र क्याल्सियमले दाँत चम्किलो बनाउँछ ।

– नीमको उपयोग प्राचिन कालबाटै दाँत सफा गर्नका लागि गरिन्थ्यो । नीमले दाँत सफा बनाउने र दाँतको व्याक्टेरिया नष्ट गर्ने क्षमता राख्छ ।

– बेसार, नुन र तेलको मिश्रणबाट पनि दाँत सफा गर्न सकिन्छ । यसले गर्दा दाँत बलियो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्