भारतीय निर्वाचनबारे प्रचार प्रसार नगर्न आग्रह



जनकपुरधाम : भारत बिहारको सीतामढीमा हुन गइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपालको रेडियो एफएममा निर्वाचन अभियान सम्बन्धी प्रचार प्रसारमा निषेध गरिएको छ ।

सोमवार जिल्ला प्रशासन कार्यालय महोत्तरीले चैत २८ गतेदेखि २०७६ जेठ ५ गतेसम्म जिल्ला स्थित एफएम रेडियोमा भारतीय निर्वाचन अभियान सम्बन्धी सूचना प्रचार प्रसार नगर्न नगराउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत श्यामकृष्ण श्रेष्ठद्वारा नेपाल पत्रकार महासङ्घ महोत्तरीको नाममा लेखिएको पत्रमा गत चैत १४ गते प्रमुख जिल्लाहरूको समकक्षी बैठकको निर्णय अनुसार निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न नहुञ्जेलसम्म ती निर्वाचन अभियान र प्रचार प्रसार नगर्ने गराउने निर्णय भएकोमा सो निर्णय कार्यान्वयन गराई दिन अनुरोध गरिएको छ ।

यसअघि भारतको सीतामढीमा दुवै देशका सीमावर्ती सुरक्षाअधिकारीबीच भएको बैठकबाट निर्वाचनको ७२ घण्टा अगावै सीमावर्ती क्षेत्र सिल गर्नुका साथै नेपाली सञ्चार माध्यमबाट निर्वाचन सम्बन्धी प्रचार प्रसार नगर्न गराउन निर्णय गरिएको थियो ।

सितामढी जिल्लामा ९ मे २०१९ मा लोकसभाको निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्