मौरीको विषले स्तन क्यान्सर गराउने कोष मार्ने निष्कर्ष



एजेन्सी : अस्ट्रेलियाका वैज्ञानिकहरूले मौरीको विषले स्तन क्यान्सरका कोषहरूलाई मारेको प्रयोगशालामा गरिएका परीक्षणमा पत्ता लगाएका छन् ।

उपचार गर्न कठिन मानिने दुई किसिमका क्यान्सर (ट्रिपल-नेगटिभ र एईआर-२) विरुद्ध मौरीको विष र त्यसमा पाइने मेलिट्टिन नामक यौगिक प्रयोग गरिएको थियो ।

यो परिणामलाई उत्साहजनक मानिएको छ। तर वैज्ञानिकहरूले थप परीक्षण आवश्यक भएको औँल्याएका छन् । संसारभरि महिलाहरूमा स्तन क्यान्सर सबैभन्दा धेरै हुने क्यान्सर हो ।

वैज्ञानिकहरूका अनुसार हजारौँ यौगिकको मिश्रणले प्रयोगशाला परीक्षणमा क्यान्सर कोषसँग लड्ने देखिए पनि उपचारका लागि शरीरमा थोरै मात्रै प्रयोग गर्न सकिएको बताएका छन् ।

अन्य प्रकारका क्यान्सरविरुद्ध पनि मौरीको विष उपयोगी देखिएको पुराना अध्ययनहरूको निष्कर्ष छ । पश्चिम अस्ट्रेलियाको ह्यारी पेर्किन्स इन्स्टिट्यूट अफ मेडिकल रिसर्चले अध्ययनको निष्कर्ष नेचर प्रिसिजन अन्कोलजी जर्नलमा प्रकाशन गरेको छ ।

अध्ययनकर्ताले के पाए ?

अध्ययनमा ३०० भन्दा बढी मौरीको विष परीक्षण गरिएको थियो । अध्ययनको नेतृत्व गरेकी २५ वर्षीया सायरा डफीले मह बनाउने मौरीको विषबाट निकालिएको यौगिक थेरै प्रभावकारी भएको बताइन् ।

विषको एउटा निश्चित मात्राले एक घण्टाभित्र क्यान्सरको कोषलाई मारेको र अन्य कोषलाई न्यूनतम हानि पुर्‍याएको बताइएको छ । तर अरू मात्रा दिँदा विषको असर बढेको थियो ।

अध्ययनकर्ताहरूले मेलिट्टिले आफैँ क्यान्सर कोषको वृद्धिलाई बढ्न रोकिदिने वा निष्क्रिय पारिदिने पत्ता लगाएका छन् । मेलिट्टिन मौरीको विषमा प्राकृतिक रूपमा पाइने भए पनि यसलाई कृत्रिम तरिकाले निर्माण गर्न पनि सकिन्छ ।

स्तन क्यान्सर भएकामध्ये १० देखि १५ प्रतिशत महिलालाई ट्रिपल-नेगटिभ हुने र त्यसको उपचारमा हाल शल्यक्रिया, रेडिओथेरपी र कीमोथेरपी प्रयोग गरिन्छ ।

के यो अध्ययन भविष्यमा उपयोगी हुन्छ ?

बुधवार पश्चिम अस्ट्रेलियामा प्रमुख वैज्ञानिकले यो अध्ययनलाई उत्साहजनक भने । प्राध्यापक पिटर क्लिन्केनले भने, “यसले प्राकृतिक यौगिको मिश्रणलाई मानिसका रोगलाई उपचारमा प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण दिएको छ ।”

तर अन्यले मौरीको विष क्यान्सरको उपचारको औषधि बन्न सक्छ कि सक्दैन भन्ने थाहा पाउन थप अध्ययन आवश्यक पर्ने बताएका छन् । “यो प्रारम्भिक कदम हो,” सहप्राध्यापक एलेक्स स्वार्ब्रिकले भने ।

“धेरै यौगिकले डिश वा मुसामा स्तन क्यान्सर मार्न सक्छन् । तर ती खोजबाट औषधिका रूपमा प्रयोग हुने अवस्थासँग पुग्न लामो यात्रा गर्नुपर्छ ।” बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्