आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा खुकुलो



धनगढी : कैलाली र कञ्चनपुरमा भदौ पहिलो हप्ताबाट लागू गरिएको निषेधाज्ञा शनिबारदेखि खुकुलो गरिएको छ ।

समुदायस्तरमै बढ्दै गरेको कोरोना संक्रमणलाई नियन्त्रण गर्न कैलालीमा भदौ ४ गतेदेखि र कञ्चनपुरमा भदौ १९ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

दुवै जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञालाई खुकुलो बनाएका हुन् ।

कैलालीमा भदौ ४ गतेदेखि १९ गतेसम्म र कञ्चनपुरमा भदौ ६ गतेदेखि १९ गतेमध्य रातिसम्म अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरिएकोमा शनिबारदेखि खुकुलो पारिएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जारी गरेको आदेश अनुसार ३१ गतेसम्म तोकिएका मापदण्ड पूरा गरेर जिल्लाभरी जोर–बिजोर प्रणाली अनुसार सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पाइनेछ ।

सार्वजनिक सवारी साधनमा एक लाइनमा एक जना मात्रै यात्रु अर्थात ५० प्रतिशत मात्रै यात्रु बोक्न पाइनेछ ।

नगरमा सञ्चालित अटो रिक्साको हकमा जोरबिजोर प्रणाली अनुसार यातायात मापदण्ड पूरा गरी बढीमा दुई जना यात्रु राखेर सञ्चालन गर्न पाइने छ ।

यसैगरी खाद्य वस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफल, दूधडेरी, कपडा पसल लगायतका व्यवसाय स्वास्थ्यका मापदण्ड पूरा गरी बिहान ५ बजेदेखि ७ बजेससम्म सञ्चालन गर्न पाइने छ ।

यस्तै राति ९ बजेदेखि बिहान ५ बजेसम्म भने हिँडडुल गर्न नपाउने प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेशमा उल्लेख छ ।

सरकारी तथा सार्वजनिक कार्यालयहरुले आलोपालो गरी न्यूनतम संख्यामा कर्मचारी उपस्थित गराई स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गराई कार्यालय सञ्चालन गर्न पाउनेछन् । अन्य कर्मचारीलाई घरबाटै कार्य सम्पादन गर्ने व्यवस्था मिलाउन पनि प्रजिअको आदेशमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र यातायात कार्यालय जस्ता भीडभाड हुने कार्यालयले दैनिक प्रशासनिक कार्य बाहेकका अन्य सेवा सञ्चालन गर्न पाउने छैनन् ।

बैंक तथा वित्तिय संस्थाहरु सञ्चालनको हकमा सामाजिक दूरी कामय गराई भीडभाड नहुने गरी बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

यस्तै कञ्चनपुर जिल्लामा पनि शनिबारदेखि सार्वजनिक सेवा सञ्चालन हुने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले भदौ २० देखि ३१ गतेसम्म कञ्चनपुर जिल्लामा सेवा, उद्योग, व्यापार, व्यवसाय तथा यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।

सेवाहरु बिहान साढे ५ देखि साझ ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ भने बेलुका ५ बजेर ३० मिनेटदेखि बहिान ६ बजेसम्म अनुमति पाएका र अत्यावश्यक सेवा तथा बस्तुबाहेकका अन्य प्रकारका सेवा, उद्योग, व्यापार, व्यवसाय तथा यातायात सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित : भदौ २०, २०७७

प्रतिक्रिया दिनुहोस्