हाम्रै अटेरिपनले गर्दा कोरोना संक्रमण बढेको हो : डा. विष्णुप्रसाद शर्मा



विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीबाट नेपाल पनि प्रभावित छ । सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको वुहान सहरबाट शुरु भएको संक्रमण अहिले नेपालमा पनि तीव्र रुपमा फैलिरहेको छ । समुदायस्तरमै भाइरस फैलिएको भन्दै धेरैले चिन्ता व्यक्त गरिरहेका छन् । केही जनस्वास्थ्यविज्ञले नेपालमा भाइरसको संक्रमण उत्कर्षमा पुगेको भन्दै चेतावनी समेत दिइरहेका छन् । यसैबीच कोरोना संक्रमणसम्बन्धी नेपालको पछिल्लो स्थिति, मृत्यु दर र संक्रमण बढ्नुको कारण, कोरोना नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञा र पाटन अस्पतालमा कोरोना संक्रमितका उपचार कसरी भइरहेको छ भन्ने विषयमा केन्द्रित रही द नेपालटप सम्वाददाता आशा साहले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वनिर्देशक डा. विष्णुप्रसाद शर्मासँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश :

नेपालमा असार अन्तिमको तथ्यांक हेर्दा कोरोना संक्रमितको ग्राफ घटेको थियो, तर अहिले फेरी संक्रमित बढ्दै गइरहेको छ । किन यस्तो भइरहेको छ, यसले आगामी दिनमा कस्तो असर पार्छ ?
– शुरुको दिनमा भर्खर शुरुको अवस्था भएको थोरै देखा परेको हो । परीक्षण पनि त्यति भइसकेको थिएन । परीक्षणको दायरा बढायो भने संक्रमितको संख्या धेरै नै देखिन्छ यो स्वभाविक कुरा हो । तर, पछिल्लो संक्रमण दर बढेकै हो । किनभने शुरुका दिनमा सुरक्षित अवस्था थियो । लकडाउन पनि गर्यौ । सीमा नाका बन्द गर्यौ । त्यसले गर्दा संक्रमण धेरै हुन सकेन । तर, पछि लकडाउन खुलिसकेपछि मानिसहरु बाहिरबाट आइसकेपछि र छिमेकी मुलुकबाट आउँदा एकबाट अर्कोमा भाइरस सरेका कारण संक्रमित दर बढी देखिएको हो । अहिले परीक्षण पनि गरिरहँदा धेरै मानिसमा संक्रमण भएको छ । टेस्ट अनुसारको बढी संक्रमण देखिनु स्वाभाविकै हो । यद्यपि अहिले संक्रमण पहिलाभन्दा बढेकै हो ।

त्यसो भए यसले दिने संकेत के हो ?
– हामीले अहिले पनि संयम हुन सकेनौ भने यो स्थिति अझै बढ्ने देखिन्छ अहिलेको अवस्था हेर्दा । किनभने अस्पतालहरुमा ठाउँ नभएर घरमै बस्ने घरमै राख्ने कुरा आइसक्यो । हिजोको दिनमा संक्रमण नफैलियोस् भन्नलाई लक्षण नदेखिएकाहरुलाई पनि अस्पतालमै राख्नुपर्छ भन्ने सोच थियो । अहिले अस्पतालमा संक्रमित देखिएका र गम्भीर अवस्था भएकालाई राख्नुपर्छ किनकि ठाउँ छैन । त्यसकारण अरु चाहि घरमै बस्नुपर्छ भन्ने हिसाबले अहिले पनि हामीले संयमता अपनाएनौ भने यसले अवश्य भयावह रुप लिन्छ ।

नेपालमा सुरुवाती चरणमा ९८ प्रतिशत संक्रमितमा लक्षण देखिएको थिएन । तर, पछिल्लो चरणमा संक्रमितसँगै मृतकको दर पनि बढ्दो छ । यसका मुख्य कारण के हो ? कि भाइरसले रुप फेर्दै गएको हो ?
– यसबारे ठ्याक्कै भन्न सक्दिनँ । अर्को कुरा यो एउटा अनुसन्धानकै विषय भएको हुनाले कसैले पनि सही रुपमा भनिहाल्न सक्दैनन् । किनकि यो एउटा परीक्षणकालमै छ । विकसित देशहरुले यो भाइरसका बारेमा धेरै कुरा भन्न सकिरहेका छैनन् । अनुसन्धान भएको हुनाले यसलाई यसै भनेर भन्नसक्ने अवस्था छैन । तर, संक्रमणदर बढेपछि मृत्युदर बढ्नु स्वभाविकै हो । लक्षण हिजोको दिनमा नदेखिदा केही व्यक्तिमा थियो । अहिले बढीमा भयो । केहीमा अहिले पनि लक्षण देखिएको छैन । तर, धेरैमा देखियो । धेरैमा देखिने कारण चाहि सक्रमित व्यक्तिको संख्या बढेको हुनाले बढी लक्षण देखिएको हो । जस्तै हिजो एउटा–दुईवटामा मात्र संक्रमित हुँदा लक्षण देखिएन । दुई–चार जनाको ठाउँमा दुई–चार हजार हुँदा त्यसमा केही लक्षण नदेखिएका अहिले पनि हुनुहुन्छ ।

तर, अरुमा लक्षण देखिएको हुँदा लक्षणवाला धेरै देखिएको हो भन्ने हिसाबले हामी गयौ । यसले मृत्युदर बढ्ने कारण संक्रमण दर बढी भएपछि मृत्युदर पनि बढी नै हुन्छ । तर, भाइरसले मात्रै भन्दा पनि अरु रोगले गर्दा पनि व्यक्तिहरुको मृत्यु हुन्थ्यो । र अहिले रोगले नै मृत्यु भइरहँदा यो रोग पनि देखिने भएकोले हाम्रो ध्यान यसमै बढी केन्द्रित भयो । कोरोनाले मात्रै गर्दा अहिले मृत्युवरण गरिरहेका व्यक्तिहरु र अस्पतालबाट जुन तथ्यांकहरु लिन्छौ सबै कोरोनाकै कारण मृत्यु भएको भन्दा पनि अरु दीर्घरोगी लगायत अन्य रोगका कारण पनि मृत्युवरण गर्नुहुन्थ्यो होला । तर, त्यो सँगसँगै कोरोना संक्रमण पनि भइदिँदा प्रतिरोधक क्षमता कम हुँदा बढी संख्यामा मृत्यु भएको हुन सक्छ ।

वृद्धवृद्धा, दीर्घरोगीलगायत अन्य गम्भीर रोग भएकाहरुको कोरोनाका कारण मृत्यु हुन सक्छ । यो भाइरसले मृत्यु हुँदैन । अरु रोगसँग माध्यम बनेर मानिसले ज्यान गुमाउँछन् भन्ने मनोविज्ञान समाजमा देखिएको थियो । तर, आजको दिनमा आइपुग्दा कुनै रोग नभएकाको पनि मृत्यु हुने गरेको छ । यसलाई कसरी बुझ्ने ?
– कोरोनाले गर्दा मृत्यु नहुने भनेको होइन । कोरोनाले गर्दा पनि मृत्यु हुने भयो । अहिले रोग प्रतिरोधक क्षमता कुरा आएको छ । यो सबै अनुसन्धानकै विषयमा छ । रोगसँग लड्ने क्षमता बढाउनुपर्यो । त्यस अनुसार कोरोनाले मात्रै गर्दा पनि मृत्यु हुने चाहि हो । तर, अरु रोग भएकालाई यसले बढी असर गर्छ भन्न खोजिएको हो ।

– तपाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रहिसक्नु भएको छ । पाटन अस्पतालमा संक्रमितको उपचार हुँदै आएको छ । यो अवस्थामा कसरी संक्रमितको उपचार भइरहेको छ ?
– हामी यसका लागि सुरुदेखिनै तयारी अवस्थामा थियौ । हामीले कोरोना नै आउँछ भनेर होइन तर, संक्रमित बिरामीहरु यसको असरमा पर्न सक्छ । अरु किसिमको प्राकृतिक विपत्ति जस्तै–भूकम्पको विपत्ति, दुर्घटनाको विपत्ति त्यति अप्ठ्यारो होइन । त्यसबाट रोग सरिहाल्ने भएन । कोही मानिस घाइते हुन्छ, कसैको मृत्यु हुन्छ । त्यसलाई उपचार गर्नुपर्यो । चिकित्सक र स्वास्थ्यकर्मी अथवा स्वास्थ्य सेवामा लाग्ने कसैलाई पनि त्यसमा डर भएन । जो दुर्घटनामा पर्नुभयो उहाँहरुलाई हामीले बचाउनुपर्ने हाम्रो दायित्व हुन्थ्यो । तर, यसरी सरुवा रोग चाहि कुनै पनि दिन आउन सक्छ । यो सरुवा रोग फैलियो भने भोलिका दिनमा डाक्टर स्वास्थ्यकर्मीहरुनै यसमा सक्रिय हुने भएकाले यसलाई व्यवस्थापन गर्न गाह्रो हुन्छ । त्यसका लागि हामी तयारी अवस्थामा रहनुपर्छ भनेर धेरै अगाडि नै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले भन्दै आएको थियो । यसको अभ्यास पनि गरेका थियौ ।

कोरोनाका कारणले अहिलेसम्म दुई सयभन्दा बढीको ज्यान गइसकेको छ । पाटन अस्पतालमा कोरोनाकै कारण ज्यान गुमाउने कति छन् ?
– यसबारे ठ्याक्कै कति जना छन् भनेर भन्न सक्दिन । कोरोना कै कारण भन्नाले हिजोका दिनमा पनि तथ्यांक हेर्ने हो भने एउटा–दुईवटा मृत्युदर भएकै थियो–कोरोनाभन्दा पहिला । कोरोना सुरु हुँदा लकडाउनले गर्दा बिरामीहरु कम भएकाले शुरुका दिनमा मृत्यु नभएको दिन पनि छ । तर, सुरुवात एउटा भयो । मलाई राम्ररी सम्झना छ–त्यसपछि एक दुईजनाको मृत्यु हुन थाल्यो । कुनै दिन तीनजना सम्मको मृत्यु भएको थियो भने कहिले नभएको पनि थियो ।

यसलाई मैले खास फरकको रुपमा लिन्न । तर, पनि मुटु रोगी, मिर्गौला रोगी, दीर्घ रोगी र सुगर रोग भएर वा अन्य कुनै कारणले मृत्यु भइरहँदा अहिले कोरोना संक्रमण पनि देखियो र अहिले हामीले सबैलाई कोरोनाकै हिसाबले दाहसंस्कारको लागि अगाडि बढायौ । सबै कोरोनाले गर्दा भएको हो भनेर भन्ने गर्छौ । तर, हिजोको दिनमा पनि यसरी मृत्यु भइरहेकै थियो ।

पछिल्लो समय नेपालमा जुन प्रकारले संक्रमितको दर बढ्दै गएको छ । यसले अझै खराब अवस्था सिर्जना हुने देखिन्छ नि ?
– यो संक्रमण अझै बढ्दै जाने स्थिति हो । त्यसमा पनि हामीले बढी अवज्ञा गरेका छौ । यो रोग यस्तो हो भन्ने कुरा आइरहँदा र यसका लागि सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने सेनिटाइजर प्रयोग गर्ने भनिरहेका छौ । तर, अहिलेको यो स्थितिमा बिहान बजार खुल्दा मानिसहरुले भिड गरेको देखिन्छ । बजार एकछिन खोल्नुको मतलब मानिसहरु बाहिर धेरै नहिँडौ, एक–अर्कासँग घुलमिल धेरै नगरौ, समूहमा नबसौ भनेर हो । हिजोको दिनमा लकडाउन हुँदा मानिस त्यो स्थितिबाट पर थियो । लकडाउन खुल्ने बित्तिकै कर्फ्यू खुलेजस्तै मानिसले अनुभव गरे–अब जे गरे पनि हुन्छ । त्यो त होइन नि । लकडाउन भनेको हामीलाई एउटा अनुशासनमा बस्न सिकाउने एउटा माध्यम हो । सधै लकडाउन गरेर मात्र भएन । हामी अनुशासित रुपमा बस्न सक्नुपर्यो ।

यो हिसाबमा आम नागरिक सचेत हुन नखोजेको हो ?
– यो अवज्ञापन हो । शब्द सुन्दा अलि नराम्रो लाग्छ । हामी लकडाउनमा यति बसिसक्यौ । सुरुकै दिनमा तीन महिना लकडाउनमा बस्ने, अस्पताल उपचार गर्न जान नपाउने, कतिले खान पाइएन भन्ने कुरा भयो, यो किन भयो भन्ने हामी सबैलाई थाहा छ । घरबाट किन बाहिर निस्कन पाइएन, सरकारले निषेधाज्ञा किन गर्यो भन्दा यो रोग छ है । यो रोगको लागि यो–यो कुराहरु भनिराखेको छ । विज्ञापन सुन्छौ, पोस्टर देख्छौ, फोनमा चेतनामुलक कुरा सुन्छौ । मिडियाका माध्यमबाट समेत सबै कुरा भनिरहेको छ भने यो ५÷७ महिनामा पनि चेतना भएन । चेतना नभएको होइन यो अटेरिपन हो ।

गएको ६ महिनामा सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदमलाई कसरी समीक्षा गर्नुहुन्छ ?
– हामीले यथार्थ हेरेर अगाडि बढ्नुपर्छ । विकसित देशहरुले त यसमा कन्ट्रोल गर्न सकेको छैन । मैले सुरुमै स्वास्थ्य मन्त्रालयसँगको पटक–पटकको बैठकमा आइसोलेसन बेडहरु छुट्याउनुपर्छ भनेको थिएँ । शुरुमा पाटन अस्पतालले छ वटा बेड छुट्याएको थियो । त्यस बेला एक महिनासम्म पनि कुनै बिरामी थिएन । यो धेरै शुरुको अवस्था हो । यसकारण सरकारले त्यसैबेला पनि पहल गरेको हो । बैठकहरु बसेको हो । अब हुनसक्छ जति हुनुपथ्र्यो त्यति हुन सकेन, त्यो आफ्नो ठाउँमा छ । तर, यसबारे सरकारबाट पहल भने भएकै हो । सरकारले चाहेको हिसाबले कदम लिएकै हो । तर पनि अझ शुरुको दिनमा क्वारेन्टाइन जस्तो अथवा सानो अस्पतालहरु बनाउन सकेको खण्डमा राम्रो हुन्थ्यो होला भोलिका दिनमा सहज हुन्छ होला । हामीले यथार्थ पनि बुझ्नुपर्छ ।

तर, पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमित दर बढ्दै जानु र आइसोलेसनको व्यवस्था नहुँदा यसले अझै भयावह अवस्था आउने देखिन्छ नि ?
– यो रोग मलाई लाग्दैन अरुलाई मात्र लाग्छ भन्ने एउटा गलत सोचाइ छ । अहिलेको समाजमा के छ भने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी कसैलाई पनि यो रोग लाग्यो भने मानिसले दुर्व्यवहार गर्छन, घृणा गर्छन । उसलाई भयो, मलाई भएन । यो अस्पतालमा कोरोनाको बिरामी राख्या, हामी किन जाने भन्ने कुरा हुन्छ । तर, त्यो अस्पतालमा कोरोनाको बिरामी राखेन भने भोलि तपाई बिरामी हुँदा कुन अस्पताल जाने ? यसलाई हामीले पोजेटिभ भएर हेर्नुपर्छ । यसको मतलब ठाउँ–ठाउँमा आइसोलेसनको व्यवस्था गर्दा मात्रै समाधान हुने भन्दा पनि हामी सबैले यसलाई साथ दिनुपर्छ ।

अहिले स्थानीय प्रशासनमार्फत भइरहेको निषेधाज्ञा तथा लकडाउन ठीक हो ?
– हामी अनुशासनमा बस्यौ भने लकडाउन वा निषेधाज्ञा नलगाउँदा पनि हुन्थ्यो । आफैले आफैलाई निषेधाज्ञा गर्नुपर्थ्यो । त्यो गर्न नसकेको हुनाले यो अवस्था आएको हो । यसको रोकथामको लागि हामीले सुरुदेखिनै यथावत हिसाबले अगाडि बढ्दै नियमहरु पालना गर्नुपर्यो । कोरोनाको औषधि छैन भनिराखेका छौ । अरु रोग जस्तो लाखौ करोडौं खर्च हुने रोग यो होइन । यसका लागि सिम्पल हात धुने, सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने आदिइत्यादि कुराले हुन्छ भने त्यो कुरा हामीले अनुशासनमा बस्दैनौ भने लकडाउन जरुरी छ । निषेधाज्ञा जरुरी छ । तर, हामी अनुशासनमा बस्यौ र हरेक नियम पालना गर्यौ भने लकडाउन र निषेधाज्ञाको आवश्यकता पर्दैन ।

पछिल्लो समय स्वास्थ्यकर्मीहरुमाथि जुन प्रकारको दुर्व्यवहार भइरहेको छ, यसलाई कसरी हेरिरहनुभएको छ ?
– यो एकदमै नराम्रो हो । स्वास्थ्यकर्मी मात्र होइन कोरोना लागेका कुनै पनि कर्मीमाथि दुर्व्यवहार गर्नै हुँदैन । किनकि त्यो ठाउँमा तपाई हामी पनि हुन सक्छौ । हामीले अँगालो हाल्ने होइन । हात मिलाउन भएन । तर, छिछि पनि गर्नु भएन । सामाजिक दूरी कायम गर्ने हो । हाम्रो उद्देश्य त्यो रोग अरु कसैलाई पनि नसरोस् भन्ने हो । र त्यही कुरा स्वास्थ्यकर्मीमा पनि लागू हुन्छ । स्वास्थ्यकर्मीले आफ्नो ज्यानलाई बाजीमा राखेर काम गरिरहेको बेला भोलिको दिनमा म पनि बिरामी भएर त्यहाँ जान्छु उही स्वास्थ्यकर्मीले हेर्नुपर्छ भनेर हामी बिर्सिन्छौ । अनि स्वास्थ्यकर्मीलाई कोरोना भयो भनेर हामी दुर्व्यवहार गर्छौ । कोरोना संक्रमण भयो भने सहानुभूति दिनुपर्ने हो, सम्मान गर्नुपर्ने हो । हो यहि कुरा हाम्रो समाजमा नराम्रो हो ।

र अन्तमा केही भन्न चाहानुहुन्छ ?
– अन्तमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीका साथै सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिन चाहान्छु । सुरुकै दिनदेखि फन्टलाइनमा बसेर काम गर्नुहुने इमरजेन्सीका साथीहरु, मेडिकलका टिमका साथिहरु सँगसँगै सरसफाइका टिम र सुरक्षागार्ड लगायत मोहन पौडेल जीको नेतृत्वमा काम गर्नुहुने सम्पूर्ण हाउसकिपिङ्ग टिमका साथिहरुलाई धन्यवाद ।

प्रकाशित : भदौ २०, २०७७

प्रतिक्रिया दिनुहोस्