गिद्धको सङ्ख्या प्रत्येक वर्ष बढ्दै



कञ्चनपुर : प्रकृतिका कुचिकारका रूपमा चिनिने अति सङ्कटापन्न अवस्थामा रहेका गिद्ध जोगाउनका लागि सचेतनाका कार्यक्रम अगाडि बढाइएपछि कञ्चनपुरमा प्रतिवर्ष गिद्धको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । दुई दशकअघि कञ्चनपुरमा ३० देखि ४० को सङ्ख्यामा रहेका गिद्धको सङ्ख्या बढेर हाल २०० को हाराहारीमा पुगेको छ ।

एक्कासि सङ्ख्यामा निकै गिरावट आएपछि कारणको खोजी गर्दा पशुको उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधिकै कारण गिद्ध मर्ने गरेको कुरा पत्ता लागेपछि यसविरुद्ध अभियान सञ्चालन गरिएको हो । अभियानको परिणामस्वरूप डाइक्लोफेनेक औषधिको प्रयोगमा प्रतिबन्धसँगै भारतबाट ल्याउने कार्यसमेत निरुत्साहित गरिएपछि गिद्धको सङ्ख्या विस्तारै बढन थालेको छ ।

पशुको दुखाइ कम गर्ने डाइक्लोफेनेक औषधिको प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइएपछि गिद्धको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए । “सन् २०१० मा कञ्चनपुरलाई डाइक्लोफेनेकमुक्त घोषणा गरिएसँगै हराउँदै गएका गिद्धको सङ्ख्यामा वृद्धि हँुदै गएको पाइएको छ”, उनले भने, “लोप हुने अवस्थामा पुगेका गिद्ध पुरानै अवस्थामा फर्कन थालेका छन् ।”

उनका अनुसार डाइक्लोफेनेक प्रयोग गरेका पशुको मृत्युपछि गिद्धले सिनो खाँदा मुटु, मिर्गौलालगायतमा असर पुग्न गई गिद्धको मृत्यु हुने गरेको थियो । “हाल पशुको दुखाई कम गर्ने डाइक्लोफेनेकको प्रयोग प्रतिबन्धित भएपछि गिद्ध संरक्षणमा टेवा पुगेको छ”, उनले भने । गिद्धले गुँड लगाउने र बस्न रुचाउने अग्ला सिमललगायतका रुखहरु काटिने मासिने क्रममा समेत कमी आएपछि गिद्ध जोगिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्