सर्लाहीमा ३ साताको लामो निषेधाज्ञा सोमबारदेखि अन्त्य हुँदै



जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय सर्लाहीले ३ सातापछि निषेधाज्ञा हटाएको छ ।

कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले विगत तीन सातादेखि लगाइदै आएको निषेधाज्ञा सोमबारदेखि हटाउने निर्णय गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।

जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीको आईतबार बसेको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

सर्वसाधारणको दैनिकी एवं सामाजिक आर्थिक अवस्थालाई सन्तुलित बनाई राख्न व्यापार तथा रोजगारी हुने खालका क्रियाकलापहरु सञ्चालन गर्न दिइने निर्णय गरिएको उनले बताए । यद्यपि कोरोना संक्रमण फैलिन नदिन आवश्यक सुरक्षा मापदण्ड पालन गराउन लगाइने उनले बताए ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा खुल्ला गरेपनि होटेल तथा मदिरा पसल र हाट बजार तथा मेला आयोजनमा पूूर्ण प्रतिबन्ध लगाएको छ ।

उपभोग्य सामग्री बिक्री गर्ने पसलहरु प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोल्न दिइने निर्णय गरिएको छ । संघ संस्था, कार्यालय, वित्तिय संस्थाहरु पालिकागत हिसाबले पालो मिलाएर संचालनमा ल्याइने सूचनामा उल्लेख छ ।

त्यस्तै सरकारी कार्यालयहरु भदौ २३ गते मंगलबारदेखि सञ्चालन हुने प्रजिअ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्