दशैंसम्म निषेधाज्ञा लम्ब्याउन ललितपुरका सीडीओको सुझाव (भिडियाेसहित)



काठमाडौँ : ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायणप्रसाद भट्टले दशैंसम्म निषेधाज्ञा गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरस सम्बन्धी कामहरूको अनुगमन र मूल्यांकन गर्नका लागि गठन भएको उपसमितिको बैठकमा प्रजिअ भट्टले चाडपर्वमा भीडभाड बढ्न सक्ने र कोरोना नियन्त्रणभन्दा बाहिर जानसक्ने भन्दै यस्तो धारणा राखेका हुन् ।

उनले भने ‘अब हाम्रो अगाडि चाडवाडहरू आइरहेका छन् । दसैंजस्तो ठूलो चाड आएको छ । मानिसहरुको अति ठूलो भावना हुँदो रहेछ । त्यो अहिले हामीले व्यहोरिरहेका छौं । दसैंमा पनि त्यस्तो हुन सक्छ । त्यसो भएको हुनाले दसैंसम्म हामीले यसलाई कुनै न कुनै रुपमा अलिकति केही खुकुलो बनाए पनि यो स्थिति कायम गर्नैपर्ने हुन्छ ।’

उनले चाडबाड र रीतिरिवाजमा मान्छेहरूको भावना जोडिएको बताए । साथै उनले रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडप र भीडतर्फ संकेत गर्दै दशैंमा पनि यस्तो अवस्था आउन सक्ने भएकाले निषेधाज्ञा गर्नुपर्ने बताए । उनले अहिलेको निषेधाज्ञाको मोडललाई केही खुकुलो पारेर जानुपर्ने पनि सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्