विषालु च्याउ कसरी चिन्ने र विषबाट बच्न के गर्ने ?



एजेन्सी : वर्षायाम लागेसँगै वनपाखा, खोला र चौरमा च्याउ प्रशस्त उम्रिन्छन् । तीमध्ये कतिपयमा पौष्टिक तत्त्व प्रशस्त पाइन्छ । तर, सबै च्याउ खानयोग्य हुँदैनन्, कतिपय निकै विषालु हुन्छन् ।

विषालु च्याउ खाएर बर्सेनि धेरै मानिसको ज्यान जान्छ । नेपालको दुर्गम तथा पहाडी क्षेत्रमा बिषालु च्याउ खाएर मर्नेको संख्या बर्षेनी बढ्दो छ । बर्षातकाे समयमा हरेक बर्ष ३० देखि ४० जनाले ज्यान गुमाएको तथ्याङ्कले देखाउँछ ।

यो समस्या नेपालको मात्र होइन विश्वब्यापी नै छ । एक तथ्याङ्कसार अमेरिकामा पनि हरेक १ लाख जनामा पाँच जना विषालु च्याउ खाएरै अस्पतालमा भर्ना हुने गरेको पाइएको छ । यद्यपी त्यहाँ च्याउ खाएरै मुत्यु भएको तथ्याङ्क पच्चीस बर्ष यता भेटिएको छैन ।

नेपालमा एक हजारभन्दा बढी प्रजातिका च्याउ पाइन्छन् । तीमध्ये करिब एक सय १० प्रजातिका मात्र खानयोग्य छन् । हेर्दा सबै च्याउ एकै प्रकारको देखिनाले खानयोग्य र विषालु छुट्याउन गाह्रो हुन्छ ।

खानयोग्य च्याउको छाता छुँदा चिप्लो हुन्छ । छाता खस्रो भएको च्याउ विषालु हुन्छ । यस्तै, नमिठो गन्ध, धेरै झुस, थरीथरीका रङ र तितो स्वाद भएका च्याउ विषालु हुन्छन् ।

छुँदा रङ परिवर्तन हुने र भाँच्दा चोप निस्कने च्याउ पनि विषालु हुन्छन् ।

किरा नलाग्ने भएकाले विषालु च्याउ लामो समय रहिरहन्छन्, खानयोग्य च्याउ छिटै कुहिन्छन् । विषालु च्याउ हेर्दा सफा र आकर्षक देखिन्छन् ।

भण्डारण गर्ने तरिकाबाट खानयोग्य च्याउ पनि विषाक्त हुन सक्छन् ।

च्याउको प्रकृति, उम्रेको स्थान र भण्डारण गर्ने तरिकाअनुसार त्यसले शरीरमा गर्ने असर पनि भिन्न हुन्छन् । कतिपय च्याउ खानासाथ मृत्यु हुन्छ । कतिपय च्याउ खाएपछि बिस्तारै स्वास्थ्य समस्या देखिन्छन् ।

विषालु च्याउ खाएपछि बान्ता, झाडापखाला, टाउको दुख्ने, रिंगटा लाग्ने लक्षण देखिन्छन् । केही बेर सन्चो भएजस्तो पनि हुन्छ ।

च्याउको विषले सीधा कलेजोमा असर पार्छ । त्यसपछि पित्तमा पुगेर नयाँ तत्त्वको निर्माण गर्छ, जसले मिर्गौलाको काम गर्ने क्षमता घटाउँछ । अनि कलेजो र मिर्गौला फेल भएर मानिसको मृत्यु हुन्छ ।

उमेर समूहअनुसार विषालु च्याउका असर पनि फरक हुन्छन् । बालबालिका र ज्येष्ठ नागरिकमा विषको असर छिटो पर्छ । त्यसैले खानयोग्य हो या विषालु भन्ने यकिन नगरी जंगली च्याउ घरमा नल्याऔँ । धेरै प्रजातिका च्याउ मिसाएर पनि नपकाऔँ ।

च्याउको विष लागिसकेपछि बान्ता गराउने र पखाला लगाउने विधिबाट उपचार गर्न सकिन्छ । विषको असर देखिनासाथ नजिकको स्वास्थ्य संस्थामा पुर्‍याइहालौँ । तत्काल उपचार सुरु भएमा विषले गर्ने हानिबाट बिरामीलाई बचाउन सकिन्छ ।

च्याउको विषबाट बच्न के गर्ने ?

सकभर आफुले चिनेको र अभ्यस्त भएको च्याउ मात्र संकलन गर्ने वा बजारमा विक्रीवितरण गर्ने र खाने ।

संकलन गर्दा वा भण्डारण गर्दा पलास्टिकको झोला, फलाम एबं टिनको बाकसहरु प्रयोग नगर्ने वा च्याउलाई खुला राख्ने नगुम्साउने ।

सकभर दुई प्रजातिका फरक– फरक च्याउहरु सँगै मिसाएर नपकाउने र जुनसुकै च्याउ पनि पकाउनु भन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउने ।

उमाल्दैमा, फ्रिजिङ गर्दैमा र अन्य प्रोसेसिङ गर्दैमा च्याउको विष नाश हुँदैन, त्यसैले यो भ्रमबाट मुक्त रहने ।

च्याउको विष लाग्दै गरेको अवस्था छ भने शरीररबाट यसलाई जतिसक्यो चाँडो बाहिर निकाल्न प्रयास गर्नुपर्दछ । यसका लागि बिरामी होशमै छ भने नुन पानी खाान दिएर बान्ता गराउने वा पखाला लगाउने कुनै बिधी अपनाउने ।

परम्परागत रुपमा प्रयोग गरिदै आएको लसुन, दही तथा टिमुरको पनि प्रयोग गर्न सकिन्छ तर सबै भन्दा बुद्धिमानी छिटो भन्दा छिटो अस्पताल पुर्याउनु नै हो ।

प्रतिक्रिया दिनुहोस्