वडाध्यक्ष कुटपिट गर्ने चार जना पक्राउ



बैतडी : पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको अभियोगमा प्रहरीले चार जनालाई समातेको छ। उनीहरुलाई प्रहरीले आज राति समातेको बताएको छ। 

पञ्चेश्वर ६ का ३२ बर्से वीरेन्द्र भण्डारी, ३४ बर्से रमेशराम लोहार, ५५ बर्से बलदेव भण्डारी ४९ बर्से हिक्मत भण्डारीलाई प्रहरीले पक्राउ गरेको बताएको छ।मंगलबार रोडीदेवलदेखि पञ्चेश्वर गाउँपालिका केन्द्रसम्म जोड्ने सडकका विषयमा छलफल सकेर फर्किँदै गर्दा ५/६ जनाको समूहले आफूमाथि आक्रमण गरेको अध्यक्ष चन्दले बताए।

सडकको विषयमा छलफल गरेर वडा नम्बर ४ का अध्यक्षसँगै फर्किरहेको बेला मंगलवार अपराह्न साढे ४ बजेतिर  अध्यक्ष चन्दमाथि हातपात गरेका थिए। सडकको विषयमा विवाद हुँदा उनीमाथि हातपात भएको बताइएको छ। अध्यक्ष चन्दले भने सडकका विषयमा कुनै विवाद नरहेको दाबी गरेका छन्। अध्यक्षसँगै रहेको वडाध्यक्ष राजबहादुर चन्दका अनुसार सडकको छलफल सकेर कुलाउँ फर्किने क्रममा जंगलको बाटोमा अध्यक्ष चन्दमाथि हातपात भएको हो।  

घटनाको अनुसन्धान भइरहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए। गाउँपालिका अध्यक्षमाथि आक्रमण भएपछि यहाँका जनप्रतिनिधिले असुरक्षित महसुस भएको बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्