डोल्पामा जीप दुर्घटना : पाँच घाइते, तीनको अवस्था गम्भीर



डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ६ मा पर्ने रुखबाडामा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । लु १ ज ४२२९ नम्बरको को जीप दुर्घटनामा परेको हो ।

सोमबार बिहान पाँच जना यात्रु बोकेर खदाङ्ग बजारबाट फुल्चिङ्ग तर्फ जाने क्रममा बिहान साढे दश बजे जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका पाँच जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेकोे प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

घाईते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका ५ बस्ने २४ वर्षका जीप चालक रामबहादुर रोकाय, सोही स्थानका २५ वर्षका सवारीधनी नरबहादुर रोकाय, वडा नं ६ का लोकचन्द्र बिक, सोही स्थानका हिरा बिक र मिना पुन रहेको प्रजिअ सुनारले बताए ।

घाइतेमध्ये चालक रोकाय, सवारी धनी नरलाल रोकाय र लोकचन्द्र बिकको हातखुट्टा भाँचिनुका साथै छातीमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रजिअ सुनारले जानकारी दिए । अन्य दुई जनाको अवस्था सामान्य रहेको छ । घाइते मध्ये हिरा बिक गर्भवतीसमेत रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुलाई उपचारकालागि जिल्ला अस्पताल डोल्पातर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला बाहिर लैजान हेलिकप्टर झिकाउने पहल भईरहेको वडा नं ६ का अध्यक्ष धर्मजीत रोकायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्