पाँच वर्षमा चार गुणा बढ्यो ब्यान्डविथ खपत



काठमाडाैं : पछिल्लो ५ वर्षमा प्रतिपरिवार खपत हुने इन्टरनेट ब्यान्डविथ करिब ४ गुणा बढेको छ । नेपालमा औसत परिवारले खपत गर्ने अन्तर्राष्ट्रिय ब्यान्डविथ ७ सय ५० केबीपीएस पुगेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) को तथ्यांक छ । नेपालमा आयात हुने अन्तर्राष्ट्रिय ब्यान्डविथ र इन्टरनेटका घरायसी ग्राहकको अनुमातमा यो तथ्यांक निकालिएको हो ।

ब्यान्डविथ खपतसँगै एउटै घरमा इन्टरनेट प्रयोगका लागि उपयोग हुने डिभाइसको संख्या पनि बढेको छ । पाँच वर्षअघि एउटा घरमा इन्टरनेट प्रयोगका लागि औसत २ वटा डिभाइस प्रयोग हुने गरेकोमा हाल प्रयोग हुने डिभाइसको संख्या औसतमा ५ पुगेको आईस्पानको तथ्यांक छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार हाल ४० वटा इन्टरनेट सेवा प्रदायकका ११ लाख २९ हजार ग्राहक छन् । पछिल्लो जनगणनाअनुसार नेपालमा एक परिवारमा औसत ४.८ जना सदस्य रहने भएकाले एक घरमा जोडिएको इन्टरनेट करिब ५ जनाले प्रयोग गर्छन् ।

०७३ सालतिर घरायसी ग्राहकका लागि दिइने इन्टरनेट प्याकेजमा औसत खपत २ सय केबीपीएस हाराहारीमा भए पनि ०७७ मा आउँदा यसको खपत बढेर ७५० केबीपीएस पुगेको आईस्पान अध्यक्ष भोजराज भट्टले जानकारी दिए । ‘पछिल्ला वर्षमा आन्तरिक र अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत बढेको छ, कोभिड–१९ को महामारीपछि गरिएको लकडाउनमा विश्वभर जस्तै नेपालमा पनि ब्यान्डविथ खपत चुलियो,’ उनले भने ।

ब्यान्डविथ खपत बढेसँगै हरेक स्पिडको मात्रा पनि बढेको आईस्पानको तथ्यांक छ । अहिले एक ग्राहकले लिने औसत इन्टरनेटको स्पिड पनि ४० एमबीपीएस पुगेको छ । पाँच वर्षअघि यस्तो औसत स्पिड २० एमबीपीएस थियो । अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत बढे पनि यसको प्रयोग भने मुख्यतया तीनवटा सेवाका लागि प्रयोग भइरहेको आईस्पानको तथ्यांक छ ।

नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथमध्ये २४ प्रतिशत गुगलको सेवा, फेसबुकका लागि १४ प्रतिशत र टिकटकका लागि २१ प्रतिशत खपत भइरहेको छ । फेसबुक र गुगल दुवैले आआफ्नो कन्टेन्टका लागि नेपालमा स्थानीय (क्यास) सर्भर पनि राखेका छन् । टिकटकको भने तत्कालका लागि नेपालमा क्यास सर्भर छैन । त्यसैले टिकटकले खपत गर्ने अन्तर्राष्ट्रिय ब्यान्डविथ पछिल्लो समय कैयौं गुणा बढेको छ ।

नेपालमा करिब ४ सय १८ जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत भइरहेको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत यति भए पनि आन्तरिक ब्यान्डविथको खपत लकडाउनपछि १५ सय जीबीपीएसभन्दा बढी पुगेको आईस्पानको तथ्यांक छ । आन्तरिक ब्यान्डविथतर्फ सबैभन्दा बढी खपत गर्नेमा फेसबुक र गुगल अगाडि छन् ।

अहिले विश्वभर नै इन्टरनेटमा भिडियो कन्टेन्ट बढी हेरिने भएकाले ब्यान्डविथ खपत बढ्दै गएको भायनेटका प्रबन्ध निर्देशक विनय बोहरा बताउँछन् । ‘पहिले इन्टरनेटमा अक्षर र तस्बिर बढी प्रयोग हुन्थ्यो । अहिले प्रायः कन्टेन्ट भिडियोमा छन्,’ उनले भने, ‘त्यसमा पनि गुणस्तरीय भिडियो बढी हेर्न थालिएको छ ।’ कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्