तनाव कम गर्ने व्यावहारिक र उत्कृष्ट उपायहरू



एजेन्सी : ‘काम भनेको जेङ्गा खेलजस्तै हो, जहाँ हामी पुराना सबै कुरा स्थिर राख्दै नयाँ कुरा थप्ने प्रयास गछौं ।’ यो भनाइ अनुसन्धानकर्ता ब्रुस डेज्लीको हो। उनी कार्यसंस्कारबारे अध्ययक गर्छन् र काममा कसरी खुसी हुन सकिन्छ भन्ने विषयमा लेख्छन् र पडकास्ट गर्छन्। उनी सामाजिक सञ्जाल ट्विटरमा काम गर्छन् र युरोप, मध्यपूर्व तथा अफ्रिका क्षेत्रको जिम्मेवारी हेर्छन्। जीवनलाई कसरी धेरै तनावमुक्त पार्न सकिन्छ भन्ने निम्न उपाय उनले बताएका छन्।

१. इमेल बन्द गर्नुहोस् :- सबैभन्दा सजिलो उपाय इमेलको एपमा ‘नपढिएका इमेलको सङ्ख्या नदेखिने’ बनाउनु हो। तनाव कम गर्ने यो सबैभन्दा सरल उपाय हो। कार्यालय समय अगाडि वा पछाडि इमेल हेर्ने बानी भएका आधाभन्दा बढी मानिसहरूमा उच्च तनावको सङ्केत देखिन्छ। त्यसैले त्यो सरल काम तपाईँले गर्न सक्ने सबैभन्दा महत्वपूर्ण कुरा हुनसक्छ।

२. खाजा खाने समय निकाल्नुहोस् :- परिवर्तन गर्न सकिने दोस्रो सबैभन्दा राम्रो र सहज बानी खाजा खाने समय निकाल्नु हो। काम गर्ने ठाउँभन्दा टाढा गएर ऊर्जा लिनु क्रान्तिकारी कदमजस्तो नदेखिन सक्छ। तर काम गर्दै टेबलमा बसेर खाने बानी यति सामान्य भइसक्यो कि त्यसले तनावको मात्रा बढाइरहेको छ। अझै थुप्रै इमेलहरू हेर्न बाँकी भएको बेला आफ्नो टेबल छाडेर समय निकाल्ने सोच्न पनि गाह्रो हुन्छ। तर अध्ययनकर्ताहरूले बेलाबेलामा टेबल छोड्नु काम गर्न फेरि ताजा महसुस गर्ने सबैभन्दा उत्तम उपाय भएको पत्ता लगाएका छन्।

३. भिक्षुको जस्तो व्यवहार :- हामीमध्ये धेरैलाई काम सम्पन्न गर्ने क्रममा थुप्रै अवरोधहरू आएको र काम सक्न कठिन भएको महसुस हुन्छ। वाशिङ्टनस्थित जोर्जटाउन विश्वविद्यालयका प्राध्यापक तथा डीप वर्क पुस्तकका लेखक वेल क्याल न्यूपोर्ट भन्छन् ‘हामीले बिहानको समयलाई भिक्षुले जसरी व्यतीत गर्ने विषयमा सोच्नुपर्छ।’ भिक्षुले जसरी कसरी समय व्यतीत गर्न सकिन्छ त ? हप्ताको दुई पटकजति आवाज वा अवरोध नहुने शान्त स्थानमा जाने र एक पटकमा ९० मिनेट जति बस्ने।त्यसपछि हामी सामान्य रूपमै कार्यालय जान सक्छौँ र बैठक एवम् इमेलजस्ता दैनिक काममा लाग्न सक्छौँ।

४. कुरा गर्नुहोस् :- धेरै कम्पनीहरू कार्यालयभित्र कसरी नवीन र रचनात्मक वातावरण बनाउन सकिन्छ भनेर सोचिरहेका हुन्छन्। म्यासचुसिट्स इन्स्टिट्युट अफ टेक्नोलजीले गरेको रोचक अनुसन्धानले कार्यालयमा सिर्जनशीलता र रचनात्मकता बढाउने सबैभन्दा उत्तम उपाय त्यहाँ हुने कुराको मात्रा भएजि देखाएको छ। अनुसन्धानकर्ता बेन वाबर भन्छन् – तपाईँको कार्यालयमा सिर्जनात्मक वातावरण बढाउन त्यहाँको कफी बनाउने मशिनको स्थान सार्नु एउटा उत्तम उपाय हो।

कफी मशिन, पानी तताउने वा चिसो बनाउने मशिन राख्ने ठाउँ सार्दा धेरै कुराकानी र छलफल हुन सक्छ। ती कुराकानी अघिल्लो रात टीभीमा आएको कार्यक्रम वा खेलकुदका बारेमा हुनसक्छ। तर सामान्यतया यस्ता कुराकानी कामसँग सम्बन्धित छलफलतर्फ उन्मुख हुन्छन्। मानिसहरूलाई धेरै गफ गर्न प्रोत्साहित गरेर वास्तवमा कार्यालयमा अझ धेरै काम गर्न सक्छौँ भन्ने कुरा अनौठो लाग्न सक्छ। तर यस विषयमा भएका अनुसन्धानले धेरै गफ हुने कार्यालयहरू नै सबैभन्दा रचनात्मक हुने सुझाव दिएको देखिन्छ।

५. डिजिटल उपकरण नचलाउने दिन बनाउनुहोस् :- हामीलाई काममा रचनात्मक हुन र नयाँ विचारहरू ल्याउन नदिने सबैभन्दा ठूलो अवरोध तनाव रहेको अध्ययनकर्ताहरूको निष्कर्ष छ। र, मोबाइल फोन बोकेका हामीहरू पहिलेभन्दा धेरै तनाव महसुस गरिरहेका छौँ। त्यसैले यो तनाव कम गर्ने उपाय पत्ता लगाउनु महत्त्वपूर्ण भएको छ। त्यसका लागि एउटा आरामदायी सप्ताहान्तजस्तो फुर्सदको समय निकाल्नु राम्रो उपाय हो।

यसका लागि तपाईँले मोबाइल फोन, ट्याबलेट वा कम्प्युटरजस्ता डिजिटल सामग्री प्रयोग गर्नबाट रोक्नुपर्छ। फेरि ताजा हुन सप्ताहान्तमा यस्ता उपकरणबाट आफूलाई मुक्त राख्नुपर्छ। आफ्नो हाकिमलाई सप्ताहान्तमा बिदाको दिन इमेल नपठाउन भन्नुहोस् किनभने त्यस्ता इमेलले बिदामा र काममा फर्कँदा समेत हामी चिन्तित हुन्छौँ।तनावग्रस्त व्यक्तिहरू रचनात्मक हुन सक्दैनन्।

६. चालीस घण्टा पर्याप्त :- अहिलेको विश्वमा हामी कार्यालय समयपछि पनि काम गर्ने र लामो समय काम गर्ने मानिसहरूलाई राम्रो मान्छौँ। पत्रिकामा पढिने वा टीभीमा हेरिने सामग्री धेरै काम गर्ने मानिसहरूका बारेमा हुन्छ। तर नयाँ खोजहरूले यसरी लामो समय काम गर्नु राम्रो नभएको देखाउन थालेका छन्। सायद सातामा ४० घण्टा काम गर्नु पर्याप्त छ। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्