पानी छोएको निहुमा बालिकामाथि कुटपिट



काठमाडौंः मोरङको उर्लाबारी-४ थापाडाँगीकी १२ वर्षीया बालिका फुलसरी मंग्रान्तीमाथि कुटपिट भएको छ ।

बालिकालाई फ्रिजबाट पानी निकालेको निहुउँमा छिमेकी नन्दलाल श्रेष्ठ, उनकी पत्नी निर्मला र छोरा अम्बिरले कुटपिट गरेको बालिकाकी भाउजु दुर्गाकुमारी रोकाले बताइन् ।

आमा सानैमा छोडेर अर्कोसँग हिँडेकी र बुवा बेपत्ता भएकी फुलसरीलाई दुर्गाले नै डेढ वर्षदेखि आश्रय दिरहेकी छिन् । श्रेष्ठले दलित बालिका घरभित्र पसेको भन्दै सोमबार निर्घात कुटपिट गरेका उनले बताइन् ।

कुटपिटबाट बालिकाको शरीरभरि नीलडाम छ । सोमबार उनी चिसो पानी लिन छिमेकी निर्मला श्रेष्ठको घरमा गएकी थिइन् । ‘नानी सधैं त्यो घरमा जाने र पस्ने गरेकी थिई, सोमबार फ्रिजमा राखेको पानी लिन पठाए, घरमा सानो नानी मात्र रहेछ ऊसँगै फुलसरी पनिभित्र गइछ,’ दुर्गाले भनिन्, ‘श्राद्ध छ, हामीले खाना चढाएको छैन भन्दै नीलडाम हुने गरि कुटपिट गरे छन् ।’ दुर्गाले जातीय विभेद गरेर कुटपिट गरेको भन्दै इलाका प्रहरी कर्यालय उर्लाबारीमा किटानी जाहेरी दिएकी छिन् ।

इलाका प्रहरी कार्यालयका इन्चार्ज इन्स्पेक्टर सुभाष राईले किटानी जाहेरीका आधारमा सोधपुछका लागि उनीहरूलाई बोलाइ अनुसन्धान भइरहेको बताएका छन् ।

प्रकाशितः २४ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्