नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा शुरु, १५ बुँदे प्रस्ताव माथि छलफल



काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा छलफल गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १५ बुँदे प्रस्ताव तयार पारेका छन्।

आन्तरिक विवाद समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदन परिमार्जन गर्दै अध्यक्षद्वय ओली र दाहालले गत बुधबार तीन महिना लामो पार्टी विवाद टुंगाउने गरि १५ बुँदे प्रस्ताव तयार पारेका थिए। सोही प्रस्तावमाथि बैठकमा छलफल हुनेछ।

गत बुधबार सदस्यहरुलाई पठाइएको प्रस्तावमा स्थायी कमिटीका लागि पार्टी एकताको महत्वलाई आत्मसात गर्ने, पद्धती र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठनात्मक क्षेत्रमा काम गर्ने, एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने, सरकारको कामबारे थप काम गर्ने र संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने बुँदा छन्।

यसबाहेक प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाउने, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा गर्ने काम, कोभिड– १९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनरुत्थान गर्ने, बाढी–पहिरोद्वारा सिर्जित प्राकृतिक विपत्तिको सामना गर्ने, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानहरूको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्ने र एमसीसी सम्झौतालाई स्थायी कमिटी बैठकको एजेन्डा बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्