आज भारतमा ९७ हजार भन्दा बढीमा कोरोना पुष्टि



काठमाडौंः आज भारतमा कोरोना भाइरसका संक्रमित ९७ हजार भन्दा बढी थपिएका छन् ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुकोे संख्या दिनप्रतिदिन बढी रहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ५७० जना संक्रमित थपिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल संक्रमितहरुको संख्या ४६ लाखभन्दा बढी पुगेको छ । संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल संख्या ७७ हजार ४७२ पुगेको छ ।

जम्मा मृतकमध्ये १ हजार २०१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको त्यहाँको मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ४६ लाख ५९ हजार ९८५ संक्रमित छन् । ती मध्ये ३६ लाख २४ हजार १९७ जना संक्रमणमुक्त भएका छन् ।

अधिकारीहरूका अनुसार ९ लाख ५८ हजार ३१६ जना अझै संक्रमित अवस्थामा छन् । भारतमा सवैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म कोरोनाकै कारणले २८ हजार जनाको मृत्यु भएको छ । महाराष्ट्रमा अहिले पनि २ लाख ६१ हजार ७९८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी आन्द्र प्रदेश दोस्रो प्रभावित प्रदेश हो । त्यहाँ ९७ हजार ३३८ जना सक्रिय संक्रमित छन् भने ४ हजार ७०२ जनाको मृत्यु भएको छ । कुल ४८ हजार ४८२ जना सक्रिय संक्रमित रहेका तमिल नाडु भारतको तेस्रो धेरै प्रभावित प्रदेश हो । नाडुमा मात्रै कोरोनाका कारण ८ हजार १५४ जनाको मृत्यु भएको छ ।

त्यसपछि धेरै प्रभावित प्रदेशहरुमा कर्नाटक र दिल्ली प्रदेश रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । रासस-एएनआई

प्रकाशितः २७ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्