असोज ७ गतेबाट दोलखाका विद्यालय खुल्ने



दोलखा : आगामी असोज ७ गतेदेखि दोलखाका निजी तथा सामुदायिक विद्यालयहरुमा नियमित पठनपाठन शुरु हुने भएको छ ।

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि लागू गरेको लकडाउनदेखि बन्द रहेका दोलखाका निजी तथा सामुदायिक विद्यालयहरुमा आगामी असोज ७ गतेबाट नियमित पठनपाठन शुरु हुने भएको हो ।

मंगलबार जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु, शिक्षा समिति र जिल्ला संकट व्यवस्थापन समिति सम्मिलित बसेको बैठकले असोज ७ गतेबाट जिल्लाका सम्पूर्ण विद्यालयहरु खोल्ने निर्णय गरेको जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति दोलखाका संयोजक डबल पाण्डेले जानकारी दिए ।

दोलखा जिल्लाका सम्पूर्ण स्थानीय तहहरुमा कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु अपनाउँदै प्राथमिक तहका सिकाइ केन्द्रहरुमा सिकाइ सहजिकरण गर्ने र आधारभ्रत तथा माध्यमिक तहहरुमा नियमित पठनपाठन क्रियाकलाप संचालन गर्ने निर्णय गरेको संयोजक पाण्डेको भनाई छ ।

दोलखाका १५ निजी विद्यालय र ३२५ सामुदायिक विद्यालयहरु बन्द हुँदा ती विद्यालयमा अध्ययनरत करिब ५० हजार विद्यार्थीहरुको पठनपाठन बन्द भएको छ ।

भीमेश्वर नगरपालिकाका प्रधानाध्यापकहरुका अनुसार आवश्यक सुरक्षात्मक उपायहरु अपनाई असोज ७ गतेबाट कसरी विद्यालय सञ्चालन गर्न सकिन्छ भनी आफूहरुले तयारी गरिरहेको बताए ।

प्रकाशित : भदौ ३०, २०७७

प्रतिक्रिया दिनुहोस्