वित्तीय क्षेत्रको सुदृढीकरण गर्न विश्व बैंकको २४ अर्ब ऋण



काठमाडौंः बहुपक्षीय ऋणदाता विश्व बैंकले नेपाललाई २०० मिलियन अमेरिकी डलर (करिब २४ अर्ब) ऋण अनुमोदन गरेको छ ।

कोरोना भाइरसले सिर्जना गरेको संकटसँग जुधेर अर्थतन्त्रको पुनरुत्थान, आर्थिक वृद्धि, वित्तीय क्षेत्रको स्थायित्व तथा वित्तीय सेवा पहुँचको विस्तारका लागि यो ऋण स्वीकृत गरिएको बैंकले जनाएको छ ।

अहिलेको संकटमा नागरिकको जीवन रक्षा गर्नु पहिलो प्राथमिकता भएपनि आर्थिक पुनरुत्थानका लागि प्रोत्साहित गर्नु पनि उत्तिकै आवश्यक रहेको बताउँदै विश्व ब्यांकको नेपालस्थित आवासीय निर्देशक फारिस हदाद–जर्भोसले यो सहयोग रकमले नेपालको वित्तीय क्षेत्र, पुँजी तथा बीमाको बजारको सुदृढीकरणमा सहयोग गर्ने बताए ।

उनले भने,“कोभिड १९ ले निम्त्याएको संकटबाट अर्थतन्त्रलाई छिटो पुनरुत्थान गर्न यो सहयोगले मद्दत गर्छ ।” खास गरी अहिलेको संकटपछि वित्तीय क्षेत्रमा पर्ने सम्भावित जोखिम घटाउन सुपेरीवेक्षणलाई सुदृढ बनाउन, बीमा र पुँजी बजारको सुधार, भेन्चर क्यापिटल तथा निजी इक्विटीका क्षेत्रमा काम गर्न यो रकम खर्च गरिनेछ । साथै, सर्वसाधारणको वित्तीय सेवा पहुँच वृद्धिका लागिसमेत यो रकम खर्च गर्ने बताइएको छ ।

प्रकाशितः २ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्