अर्को सातादेखि सौर्य एअरलाइन्सकाे सेवा संचालनमा



काठमाडौंः सौर्य एअरलाइन्सले अर्को सातादेखि सेवा दिने तयारी गरेको छ ।

एअरलाइन्सले अर्को सातादेखि सेवा सुरू गर्ने भएको छ । कम्पनीले लकडाउनका कारण बन्द भएको सेवा असोजको दोस्रो सातादेखि सुरू गर्ने तयारी गरेको हो ।

कम्पनीका अध्यक्ष दीपक पोख्रेलले असोजको दोस्रो साताबाट ट्रंक रूटका ५ वटा गन्तव्यमा सेवा सुरू गर्न लागेको जानकारी दिए । “असोजको दोस्रो साताबाट हामीले सेवा दिन सुरू गर्नेछौं,” उनले भने, “केही समय बन्द रहे पनि यात्रु र ट्राभल एजेन्सीको विश्वासका कारण हामी पुनः नयाँ व्यवस्थाका साथ आएका छौं ।”

उनले यात्रुको सेवा तथा स्वास्थ्यलाई पूर्ण प्राथमिकतामा राखेर तथा पूर्णरूपमा स्वास्थ सुरक्षाको मापदण्ड पूरा गरेर सेवा दिने बताए । विगत ६ वर्षदेखि सञ्चालनमा रहेको एअरलाइन्सले डेढ वर्षअघि भारतको कुवेर समूहलाई नयाँ साझेदार भित्र्याएर कम्पनी संचालनमा छ ।

कम्पनीले अहिले दैनिक गन्तव्य झापाको चन्द्रगढी, विराटनगर, भैरहवा, नेपालगञ्ज दुई र धनगढीमा दैनिक १० वटा उडान भर्ने जानकारी दिएको छ । सरकारले गत चैत ११ देखि बन्द अवस्थामा रहेका आन्तरिक हवाई उडान खोल्ने निर्णय गरिसकेको छ । क्षमताभन्दा आधा यात्रु बोकेर हवाई सञ्चालन सुरू गर्ने निर्णय सरकारले गरेको छ ।

प्रकाशितः २ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्