आज ५४ वटा आन्तरिक उडान हुँदै



काठमाडौं : गत चैत ११ गतेदेखि बन्द रहेको नियमित आन्तरिक उडान आज (सोमबार)देखि हुँदैछ ।

नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौंसहित देशभरका सबै विमानस्थलका लागि ९ वटा वायुसेवा कम्पनीहरुलाई उडान तालिकासहित अनुमति दिएको छ ।

प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षत्रीले सोमबार पहिलो दिन काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज, सुर्खेतबाट ५४ वटा उडानलाई अनुमति दिइएको जानकारी दिए ।

क्षत्रीका अनुसार प्राधिकरणले सोमबार बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगम (आन्तरिक) लाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई ५, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी ५४ वटा उडानलाई अनुमति दिइएको छ । प्राधिकरणले सौर्य एयरलायन्सलाई भने हाललाई उडान अनुमति दिएको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यी वायुसेवालाई माघ–चैतमा पाएको उडान अनुमतिको हिस्साका आधारमा २५ प्रतिशतमात्रै उडान तालिका स्वीकृत गरेको हो । उपमहानिर्देशक क्षत्रीले सोमबारदेखि काठमाडौंसहित देशभरका दुई दर्जन हाराहारी विमानस्थल खुला हुने बताए ।

जसमा भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी, साफेबगर, बाजुरा, हुम्ला, जुम्ला, रारा, डोल्पा, जोमसोम, सुर्खेत, रुकुम, लुक्ला, फाप्लु, खानिडाडा, भोजपुर, लामिडाडा, ताप्लेजुङ लगायत छन् ।

आन्तरिक उडानमा सबै वायुसेवाले जहाजको यात्रु क्षमताअनुसार, टिकट बिक्री गर्न पाउनेछन् । तर, पीसीआरलगायतका परीक्षणलाई अनिवार्य गरिएको छैन भने विमानस्थलमा यात्रुहरुले आफू स्वस्थ्य रहेको फारमसहित विस्तृत विवरण भरेर बुझाउनु पर्ने नियम छ ।

यसैगरी विगतको तुलना अनुसारभन्दा दुईदेखि डेढ घण्टाअघि नै विमानस्थल पुग्नुपर्ने छ । त्यस्तै हाते झोलबाहेक अन्य लगेज वा झोला लैजान रोक लगाइएको छ । घरपालुवा जनावर पनि हाललाई ओसारपोसारमा रोक लगाइएको छ ।

वायुसेवाहरुले ७० वर्षभन्दा माथि उमेर भएका, दीर्घरोगी, गर्भवती महिलालाई सकभर यात्रा नगर्न सुझाएको छ ।

प्रकाशित : असोज ५, २०७७

प्रतिक्रिया दिनुहोस्