नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै



काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (मंगलबार) बिहान १२ बजेर ३० मिनेटमा नेकपा सचिवालय बैठक बस्न लागेको हो ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा १ बजेका लागि तय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक आज दिउँसो साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

यसअघि आइतबार पहिलो पटक पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले मन्त्री परिवर्तनका लागि तिन विकल्प पेश गरेका थिए । प्रधानमन्त्रीले पुरै सेट परिवर्तन गर्ने वा केही मन्त्री परिवर्तन गर्ने वा खाली रहेका मन्त्रालयमा मात्र मन्त्री नियुक्त गर्ने विकल्प पेश गरेका थिए ।

नेकपाका प्रवक्ता श्रेष्ठले स्थायी कमिटीले भने अनुसार मन्त्रिपरिषद पूनर्गठन गर्ने निर्णय भएको जानकारी दिँदै यसबारेमा थप छलफल हुने बताएका छन् ।

आज बस्ने बैठकमा संवैधानिक नियुक्तिका लागि सरकारलाई सुझाव दिनका लागि आधार बनाउनेबारे छलफल गर्ने हुने छ ।

यस्तै सांगठनिक एकीकरणका बाँकी काम पुरा गर्ने, स्थायी र केन्द्रीय कमिटीमा पदपूर्ति गर्ने लगायतका विषयमा पनि छलफल हुने छ ।

प्रकाशित : असोज ६, २०७७

प्रतिक्रिया दिनुहोस्