स्याङ्जा पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या १० पुग्यो



स्याङ्जा : स्याङ्जाको दुई ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

बिहीबार बिहान वालिङ नगरपालिका–१४ तमादीमा गएको पहिरोमा परी एकै परिवारका नौ जनाको मृत्यु भएको छ । त्यस्तै कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा १ जनाको मृत्यु भएको छ ।

तमादीमा बिहीबार बिहान ६ बजे घरमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएका १० जनामध्ये ९ जनाको मृत्यु भएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ ।

मृत्यु हुनेमा ७ महिनाका शिशुसमेत रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् । उमा मायाकी बहिनी हुन् । उनी पाहुना आएकी थिइन् ।

यसैगरी मायासहित उनका ४ जना छोराहरु दीपक, कुलदीप, विक्रम र विवशको पनि मृत्यु भएको छ । विनिता कुलदीपकी श्रीमती हुन् । पहिरोमा परी मृत्यु भएका ७ महिने शिशु उनीहरुकै हो ।

पहिरोमा परी मायाकी छोरी १६ वर्षीया मनिषा नेपाली घाइते भएकी छन् । उनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

त्यसैगरी बिहीबार बिहान २ बजे कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा परी १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको छ ।

यो पनि :-

स्याङ्जा पहिरो अपडेट : एकै परिवारका ५ जनाको मृत्यु, ४ जना अझै बेपत्ता (नामावलीसहित)

स्याङ्जामा पहिरो जाँदा दुई जनाको मृत्यु, ८ जना बेपत्ता

प्रकाशित : असोज ८, २०७७

प्रतिक्रिया दिनुहोस्