प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न १२ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको हो ।

सोमबार मन्त्रिपरिषद्को नियमित बैठक हुने गरेपनि आइतबार आकस्मिक बैठक बस्न लागेको छ । आजको बैठकमा एसिड आक्रमण कसुरसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले जारी गर्ने एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए ।

उक्त अध्यादेश मन्त्रिपरिषद्बाट जारी भएपछि आजै राष्ट्रपतिबाट प्रमाणिकरण हुनेछ । यस्तै अन्य केही विधेयक बारेपनि बैठकमा छलफल हुने बुझिएको छ । सरकारले पहिलेको कानून संशोधन गरी एसिड आक्रमण कसुरको सजायमा बृद्धि गर्दै नयाँ अध्यादेश सिफारिस गरेको छ ।

एसिड आक्रमण गरेमा २० वर्ष सजाय र आक्रमणबाट मृत्यु भएमा जन्मकैदको सजायको सिफारिस गरिएको छ ।

दुई साता अघि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण कसुरसम्बन्धी कानुन छिट्टै संशोधन गरेर कडा व्यवस्था गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्