मेक्सिकोको एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार, ११ जनाको हत्या



मेक्सिकोः मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा हिजो (आइतबार) बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ ।

समाचार अनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले आइतबार बिहानी रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरुमाथि अन्धाधुन्ध गोली चलाएका थिए ।

मोटरसाइकलमा अकस्मात ठूलो संख्यामा आएका ती बन्दुकधारीहरुले गोली हानेर ती व्यक्तिहरुको हत्या गरेका यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनीहरुले रेष्टुरेन्टभित्र छिरेर गरेको अन्धाधुन्ध गोली प्रहारमा परी त्यहाँ रहेका पाहुना र कर्मचारीको ज्यान गएको छ । त्यस हिंसामा परेर सात जना पुरुष र चार जना महिला मारिएका छन् । अरु केही कर्मचारी घाइते भएका समाचारमा जनाइएको छ ।

ग्वान्जु शहरमा खास गरी कृषि पेसामा कार्यरत व्यक्तिहरुको बसोबास रहेको छ । सो शहरमा विगत लामो समयदेखि हिंसा हुँदै आएको छ । यस्तै खालको आक्रमणमा परी वर्षेनी सयौं नागरिकको ज्यान जाने गरेको छ ।

हिंसा कसले र के कारणले गरेको हो भन्ने विषयमा केही खुलेको छैन । घटनाको अनुसन्धान शुरु गरिएको त्यहाँका प्रहरीले जनाएको छ । सिन्ह्वा

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्