दशैंका लागि असोज २० बाट टिकट बुकिङ खुलाउन प्रस्ताव



काठमाडौं : सरकारले आगामी दशैंमा घर जाने यात्रुहरुका लागि असोज २० बाट सार्वजनिक सवारीको टिकट बुकिङ खुलाउने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन व्यवसायीहरुलाई प्रस्ताव गरेको हो ।

सोमवार यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असोज २० देखि २५ सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए । यो वर्ष करिब ५ लाख व्यक्तिले दशैंका लागि उपत्यका छाड्ने विभागको अनुमान छ ।

गत वर्षका दशैंमा करिब २० लाखले उपत्यका छाड्ने गरेकोमा यो वर्ष कोरोना संक्रमणका कारण यात्रुको संख्या करिब ४ भागले कम हुने अनुमान विभागको छ । सरकारले गरेको प्रस्तावमा व्यवसायीहरुले भने सार्वजनिक यातायात सञ्चालनका सम्बन्धमा सरकारले लिएको नीति पुनरावलोकन हुनुपर्ने माग सारेका छन् ।

सरकारले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी भाडा लिएर सिटमा ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने नियम बनाएको छ । व्यवसायीहरुले विमानको हकमा यस्तो नियम नभएको भन्दै बसलाई पनि सबै सिटमा यात्रु बोक्न दिनुपर्ने माग गरिरहेका छन् । उनीहरुले दशैंको अग्रिम टिकट बुकिङ खुल्नुअघि नै यो माग सम्बोधन हुनुपर्ने अडानमा छन् ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्