बामदेव गौतमविरुद्धको रिट केही बेरपछि सर्वाेच्चमा सुनुवाइ



काठमाडौँ : नेकपाका उपाध्यक्ष बामदेव गौतमको योग्यतालाई राष्ट्रिय सभामा गरिएको मनोनयनविरुद्ध परेको रिट निवेदनमाथि केही बेरपछि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

त्यो रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन भएको हो । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।

गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले सर्वाेच्चमा रिट दिएका थिए । त्यस रिटको प्रारम्भिक सुनुवाईमा सर्वाेच्चले गत साता अन्तरिम आदेश जारी गर्दै गौतमलाई तत्काल थप कुनै पनि संवैधानिक पदमा नियुक्ति नदिन आदेश जारी गरेको थियो । इजलासले जारी गरिएको अन्तरिम आदेशको निरन्तरताका लागि दुवै पक्षलाई छलफल गर्न आजका लागि बोलाउने पेशीको आदेश दिएको थियो । अदालतको आदेशबमोजिम त्यो विषय गम्भीर कानुनी एवं संवैधानिक प्रश्न समावेश भएकाले संवैधानिक इजलास गठन गरिएको हो ।

प्रतिनिधिसभामा पराजित गौतमलाई सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिश गरेको थियो । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरेकी थिइन । गौतमले शपथसमेत लिइसकेका छन् । अहिले गौतमलाई सरकारमा सहभागी गराउने गृहकार्य भइरहेका बेला सर्वाेच्चमा मुद्दा परेको छ ।

प्रतिक्रिया दिनुहोस्