खोकी र ज्वरोभन्दा गन्ध र स्वाद गुमाउनु कोरोनाको स्पष्ट लक्षण



एजेन्सी : खोकी र ज्वरोभन्दा सुँघ्न सक्ने शक्ति गुमाउनु कोभिड–१९ को स्पष्ट सङ्केत हुन सक्छ । अनुसन्धानहरूले सुझाए अनुसार कोभिड–१९ को लक्षण खोकी वा ज्वरोभन्दा गन्ध थाहा नपाउनु भरपर्दो सङ्केत हुनसक्छ ।

युनिभर्सिटी कलेज लण्डनले ५९० जना मानिसमा गरेको अध्ययन अनुसार यो वर्षको शुरुमा स्वाद र गन्ध गुमाएका ८० प्रतिशतमा कोरोनाभाइरसको एन्टिबडिहरू भेटिएको थियो । एन्टिबडिहरू भएका ती व्यक्तिमध्ये ४० प्रतिशतमा कुनै लक्षण थिएन । यद्यपि सामान्य लक्षण भएका मानिसमा मात्रै त्यस्तो अनुसन्धान गरिएको थियो ।

गन्ध र स्वाद हराउनु कोरोनाभाइरस लागेको हुनसक्छ भन्ने प्रमाण एप्रिलबाट शुरु हुन थालेको हो र मे महिनाको मध्यबाट कोरोनाभाइरसको लक्षणको सूचीमा आधिकारिक रूपमा यी लक्षणलाई राखिएको थियो ।

अहिलेको निर्देशिका अनुसार जसले गन्ध र स्वाद गुमाएको अनुभव गर्छ उसले कोरोनाको परीक्षण गर्नुपर्छ र सेल्फ आइसोलेशनमा अलग्गै बस्नुपर्छ ।

तर, युनिभर्सिटी कलेज लण्डनकी अग्रणी लेखक–अध्ययनकर्ता प्राध्यापक रेचल ब्याटरह्यामले मुख्य लक्षणका रूपमा अझै पनि धेरै मानिसहरूले खोकी र ज्वरोलाई नै लिने गरेको बताइन् ।

उनले एप्रिल महिनाको २३ तारिखदेखि १४ मे सम्म विगत चार सातादेखि स्वाद र गन्ध गुमाएका मानिसहरूलाई लन्डनमा एसएमएसमार्फत् आफ्नो अनुसन्धानमा सरिक गराइन् । यी सबै मानिसमा एन्टिबडिको परीक्षण गरियो र पाँचमध्ये चारजनामा एन्टिबडि देखियो जसले उनीहरूमा पहिला कोभिड–१९ पोजेटिभ थियो भन्ने देखाउँछ ।

त्यस्तो अध्ययनमा सहभागी व्यक्तिहरू सबैमा सामान्य लक्षण भएको र त्यो पनि गन्ध र स्वाद गुमाएका हुनुपर्ने नियम राखिएको थियो ताकि उनीहरू सबैले कोभिडका बिरामीको प्रतिनिधित्व नगरुन् । तर, यो अध्ययनले मानिसहरूलाई गन्ध वा स्वादमा आएको परिवर्तन हेर्न र त्यस्तो लागे आफूलाई अलग्गै राख्न महत्त्वपूर्ण छ भन्ने कुरालाई प्राथमिकता दिएको प्राध्यापक ब्याटरह्यामले बीबीसीलाई बताइन् ।

उनका अनुसार दैनिक प्रयोग हुने सामानहरू जस्तै अत्तर, दन्तमन्जन, कफीजस्ता कुराको गन्ध नपाएको महसुस गरे आफूलाई अलग्गै राख्नुपर्छ ।

सबै कोरोनाभाइरसका बिरामीले गन्ध नपाएको महसुस गर्नैपर्छ भन्ने त छैन तर यदि गुमेको छ भने कोरोनाभाइरस भएको हुनसक्ने सम्भावना धेरै रहेको अनुसन्धानहरूले बताएका छन् ।

प्राध्यापक ब्याटरह्यामले व्याख्या गरिन्, मानिसले हेर्नुपर्ने भनेको चाहिँ रुघा नलागिकनै वा नाक बन्द नभइ गन्ध आउन छोडेको छ–छैन भन्ने हो ।

कोभिड–१९ हुँदा भाइरसले नाको पछाडिपट्टी घाँटी र जिब्रोमा रहेका कोषिकाहरूलाई आक्रमण गर्ने भएकोले गन्ध नपाइने ठानिन्छ ।

किङ्ग्स कलेज लन्डनका अनुसन्धानकर्ताहरू, जसले कोभिडका लक्षणको अध्ययन गर्ने एप चलाउँछन्, उनीहरूले यसअघि कोरोनाभाइरस भइ निको भएका ६० प्रतिशत मानिसले स्वाद र गन्ध गुमाएको अनुमान गरेका थिए ।

यसलाई सामन्य लक्षण मानिए पनि र अस्पतालमै भर्ना हुनुपर्ने अवस्था नभए पनि प्राध्यापक ब्याटरह्यामले गन्ध थाहा पाउने शक्ति गुमाउने सम्भावित खतरा रहेको बताइन् । त्यसमा धुवाँको गन्ध पत्ता लगाउन नसकिने, ग्यास लीक भएको थाहा पाउन नसकिने कुराहरू पनि पर्छन् ।

लामो समयसम्म बिरामी भए त्यसले मानिसको जीवनमा महत्त्वपूर्ण रुपमा असर गर्नसक्छ । हजारौँ मानिसले अनलाइनमा आफूले धुवाँको गन्ध थाहा पाउन छोडेको भन्दै चिन्तित अनुभवहरू सुनाएका छन् ।

केहीले आफूहरूले निरन्तर रूपमा बासी ‘फोहोर’ को गन्ध अनुभव गरेको वा धातुको जस्तो स्वाद अनुभव गरेको बताएका छन् । अन्यले चाहिँ भाइरस निको भइसकेको महिनौँसम्म पनि राम्ररी खानेकुराको स्वाद लिन नसकेको बताएका छन् ।

प्राध्यापक ब्याटरह्यामका अनुसार गन्धमात्रै गुमाउने र अन्य लक्षण नहुने मानिसको समूह अन्य मानिसका लागि ूसबैभन्दा खतरनाकू हुन्छन् किनभने उनीहरू सामान्य महसुस गर्छन् र सामान्य दैनिकीमा हुन्छन् । उनका अनुसार स्वाद र गन्धको कुरा सँगसँगै हुने भए पनि कोरोनाभाइरसबाट निको भएकाहरूमा गन्ध हराउनु वा कम हुनु स्वाद हराउनुभन्दा बढी सामान्य हो । उनको अध्ययन त्यतिबेला गरिएको थियो जतिबेला गन्ध र स्वाद नहुनुलाई लक्षणका रुपमा पहिचान गरिएको थिएन ।

प्रकशित : असोज १७, २०७७

प्रतिक्रिया दिनुहोस्