राहुल गान्धीले अमेठीबाट पनि उम्मेदवारी दिए



नयाँ दिल्ली : कांग्रेस अध्यक्ष राहुल गान्धीले उत्तर प्रदेशको अमेठीबाट पनि बुधबार आफ्नो उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिनुअघि उनले त्यहाँ रोड सो गरेका थिए।

यसअघि उनले दक्षिणी राज्य केरलको वायनाड चुनाव क्षेत्रबाट पनि उम्मेदवारी दिइसकेका छन्। उनी उम्मेदवारी दर्ता गराउन निर्वाचन आयोगको कार्यालय जाँदा उनीसँग कंग्रेस (आई) महासचिव प्रियंका गान्धी, ज्वाइँ रबर्ट वाड्रासहित हजारौं कार्यकर्ता थिए।

१५ वर्षदेखि उनले अमेठीबाट निरन्तर लोकसभा निर्वाचन जित्दै आएका छन्। अमेठीमा उनीविरुद्ध सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले कलाकार तथा मन्त्री स्मृति इरानीलाई उठाएको छ।

भारतमा बिहीबार ११ अप्रिलदेखि १९ मेसम्म अर्थात् ५ सातासम्म संसद्का लागि मतदान हुँदैछ।

उम्मेदवारी दर्ता गराउन राहुल निर्वाचन आयोगको कार्यालयसम्म करिब ३ किलोमिटर हिँडेका थिए। उनी अमेठीबाट निर्वाचित भए यो उनको लोकसभाको चौथो कार्यकाल हुनेछ।

सन् २०१४ मा भएको लोकसभा चुनावमा उनले १ लाख मतान्तरले जितेका थिए। त्यसबेला पनि त्यहाँ उनीविरुद्ध स्मृति इरानी नै उठेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्