कम्युनिस्ट पार्टीले मधेसी समुदायलाई विदेशी नजरले हेर्‍यो : नेता रिजाल



सर्लाही : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले मधेसी समुदायलाई विदेशी नागरिकको रुपमा व्यवहार गरेको आरोप लगाएका छन्। 

बुधबार सर्लाहीको लालबन्दीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रिजालले भने, ‘सत्ताधारी नेकपा सबै मधेशीलाई विदेशी देख्छ। जुन कुरा मधेशी समुदायप्रति उसको व्यवहारले पुष्टि गरिसकेको छ।’

दुई तिहाइको सरकारले यथाशिघ्र संसद्बाट नागरिकता विधेयक पारित गराएर जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता प्रमाणपत्र दिनुपर्ने भन्दै रिजालले गृह मन्त्रालयको सामान्य परिपत्रको आधारमा वितरण थाल्नुले सरकारको नियत ठिक नदेखिएको दाबी गरे।

‘संविधानमै जन्मसिद्धका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्ने व्यवस्था छ’, सर्वोच्चले पनि यसअघि नै कानून बनाएर नागरिकता दिनु भनेर आदेश दिइसकेको छ’, उनले भने, ‘तर संसदबाट विधेयक पारित गरेर नागरिकता ऐन जारी गर्ने सवालमा सत्ताधारी नेकपाका सांसद्हरुले नै किचलो गरिरहेका छन्, गएको अधिवेशनमै पास हुनुपर्नेमा पेश नै हुन सकेको छैन।’

दुई तिहाइको सरकारले चाह्यो भने तुरुन्त नागरिकता ऐन जारी हुने र मधेशी समुदायले सहज रुपमा नागरिकता प्रमाणपत्र प्राप्त गर्न सक्ने उनको दाबी छ। विदेशीलाई नभई वास्तविक मधेशीले सहज रुपमा नागरिकता प्रमाण पत्र पाउनुपर्ने नेपाली कांग्रेसको धारणा रहेको रिजालले स्पष्ट पारे।  

सरकार अधिनायकवादको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै नेता रिजालले प्रधानमन्त्री केपी ओलीले नेपाली सेना समेत सिधै मैले चलाउन पाउनुपर्छ भन्नु त्यसको ज्वलन्त उदाहरण भएको बताए।

नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको स्वीकार गर्दै नेता रिजालले भने, ‘२७५ जनाको संसद्मा हाम्रा ६३ जना मात्र भएकाले हामी निकै कमजोर छौं, त्यसैले सशक्त नबनेको हुन सक्छ तर अझै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने जरुरी छ।’

नेपाली कांग्रेस लालबन्दी नगर समितिद्वारा आयोजित वृहद् कार्यकर्ता भेलालाई नेतृ महालक्ष्मी डिना उपाध्याय, तरुण दलका महासचिव भूपेन्द्रजंग शाही लगायत नेताले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्