आयोजकलाई हराउँदै थ्री स्टार क्वाटरफाइनलमा



सर्लाही : रुस्लान थ्री स्टार क्लब सर्लाहीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सन्तोष स्मृति खेल मैदानमा बुधबार भएको खेलमा आयोजक बागमती युवा क्लबलाई ४–० ले पराजित गर्दै थ्री स्टार अघिल्लो चरणमा प्रवेश गरेको हो।

थ्री स्टारको जितमा सुशील राईले २ तथा अनिल गुरुङ र मेन्साले १–१ गोल गरे। खेलको पाँचौ मिनेटमा थ्री स्टारले सुशीलको गोलबाट अग्रता बनाएको थियो। उनले सुनिल बलको क्रसमा हेडमार्फत गोल गरेका थिए।

पहिलो हाफमा १–० को अग्रता लिएको थ्री स्टारका लागि ६९औं मिनेटमा अनिल गुरुङले गर्दै अग्रता दोब्बर बनाए। मेन्साको पासमा अनिलले दोस्रो प्रयासमा बक्सभित्रबाट गरेको सशक्त प्रहारले सिधै जाली चुमेको थियो।

इन्ज्युरी समयमा सुशीलले ब्याक्तिगत दोस्रो गोल गरेपछि थ्री स्टार ३–० ले अघि बढ्यो। इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मेन्साले गोल गर्दै थ्री स्टारलाई ४–० को फराकिलो जित दिलाए। पेनाल्टी क्षेत्र बाहिरबाट रञ्जित धिमालको फ्रिकिक क्रसबारमा लाग्दै फर्केर आएपछि रिबाउन्डलाई मेन्साले गोलमा परिणत गरेका थिए।

अब थ्री स्टारले सेमिफाइनलमा एपिएफ र साविक विजेता सुदूरपश्चिम ११ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दुई गोल गरेका थ्री स्टारका सुशील राई खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे।

सर्लाही जिल्ला फुटबल संघको समन्वयमा बागमती नगरपालिका र बागमती युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा ‘ए’ डिभिजनका सहित विभिन्न १२ टोलीको सहभागिता रहेको छ।

प्रतियोगितामा बिहीबार एपिएफ र च्याम्पियन सुदूरपश्चिम ११ बीच खेल हुनेछ। प्रतियोगिताको विजेताले १० लाख तथा दोस्रो हुनेले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्