डा. केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जमा आन्दोलन शुरु



पर्सा : ३२ औँ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै पर्सा जिल्लामा विभिन्न संघ संगठन आन्दोलित भएका छन् । सचेत नागरिक वीरगञ्जले आयोजना गरेको सरकारविरुद्धको प्रदर्शनमा सहभागि हुँदै चिकित्सक, अधिकारकर्मी, विभिन्न सामाजिक संघसंस्था तथा राजनीतिक दलमा आवद्ध व्यक्तिहरु वीरगञ्जको घण्टाघर चौकमा प्रदर्शन गरेका हुन् ।

नेपाली जनताको स्वास्थ्यका अभिभावक डा. केसीले स्वास्थ्य क्षेत्र एवम् शिक्षा क्षेत्रको बेतिथी र सुधारको लागि गरेका १९ औँ सत्याग्रहको समर्थनमा एकयबद्धता जनाउँदै पर्सामा विभिन्न संघसंगठन आन्दोलित हुँदै प्रदर्शन गरेका हुन् ।

No description available.

प्रदर्शनमा सहभागिहरुले डा. केसीको उठाएको माग अविलम्ब पुरा गरी उनको जीवन रक्षा गर्नुपर्ने बताएका छन् । उनीहरुले डा. केसीको अनशन माफियालाई टेन्सन, लुटतन्त्र बन्द गर, कर्णालीमा अबिलम्ब एमबिबिएसको पढाइ शुरु गर, अख्तियार माथीको हस्तक्षेप बन्द गर, दलिय भागवण्ड गर्न पाईदैन लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

जनता समाजवादी पार्टीका युवा नेता एंव अभियानता ओम प्रकाश सर्राफले डाक्टर केसीको जायज माग पूरा नगरी सरकार उल्टै मेडिकल माफियाको कब्जामा रहेको आरोप लगाए ।

उनले भने, ‘आम गरिब जनताका छोराछोरी पनि डाक्टर बन्न सकुन्, उपत्यका बाहिर पनि सरकारी मेडिकल कलेज खुलोस् भनेर डा.केसी अनशनमा बस्नुभएकाो छ । तर ,सरकारले सुनिरहेको छैन, यसले सरकार मेडिकल माफियाको कब्जामा रहेको प्रष्ट हुन्छ ।’

डा. केसीको माग अविलम्ब पुरा पूरा नहुञ्जेल प्रत्येक दिन बिहान ७ बजे निरन्तर सरकारविरुद्ध प्रदर्शन जारी नै रहने उनले बताए । उनले भने,‘आज हामी १०–२०जना डा. केसीको पक्षमा आवाज उठाउन सडकमा छौ, सरकारले हाम्रो आन्दोलनलाई कमजोर नठानोस्, पुरै देशनै केसीको समर्थनमा छ ।’

विरोध प्रदर्शनमा नेपाल चिकित्सक संघ नारायणीका सचिव डा. उदय नारायण सिंहले एउटा सत्याग्रही मानिस १९ औं पटक अनशनमा बस्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए । डा. केसीको कुनै व्यक्तिगत स्वार्थ छैन, आम नागरिकको लागि लड्दै हुनुहुन्छ उनको समर्थनमा पुरै देशवासी अगाडि बढ्नुपर्ने उनले बताए ।

No description available.

डा. सिंहले भने, ‘सहज स्वास्थ्य सेवा प्राप्ती होस्, चिकित्सा शिक्षामा सबैको पहुँच होस् भनेर अनशनरत हुनुहुन्छ, डा. केसी, ‘ती कुरा पूरा गर्ने दायित्व लोकतान्त्रिक सरकारको पनि हो, तर सरकार र आम नागरिक दुवै सुतेका छन्, खबरदारी मार्फत जगाउने प्रयास हामी गरेका छौ उनले भने ।

विरोध प्रदर्शनमा अधिवक्ता पन्नालाल पटेल, सामाजिक अभियान्ताहरु प्रकाश थारु, बृजेश्वर चौधरी, मनोज मिश्रा, लालबाबु सिंह, मोनिका सिंह, ज्योती साह, कमल चौलागाई, अविनाश झा, कन्हैया पटेल, मन्टु श्रेष्ठलगायत विभिन्न राजनीतिक दलका तथा संघसंगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

डा. केसीकै समर्थनमा गिरीजा प्रसाद फाउण्डशन र नेपाली काँग्रेसले वीरगञ्जमा प्रदर्शन गर्ने तयारी गरिरहेको छ । मंगलबारदेखि काँग्रेस पर्साले डा.केसीको जायज माग पुरा गराउँन र उनको जीवन रक्षाको माग गर्दै शुरु गरेको आन्दोलनलाई निरन्तरता दिँदै आज पुनः प्रदर्शन गर्ने जनाएको छ ।

प्रकाशित : असोज २१, २०७७

प्रतिक्रिया दिनुहोस्