भोलिदेखि स्वास्थ्य संस्थाले आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिस्कार गर्ने



काठमाडौं : सत्याग्राही डा.गोविन्द केसीको जीवनरक्षाका लागि नेपाल चिकित्सक संघले भोलिबाट आन्दोलनका कार्यक्रमहरु अगाडि सारेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै डा.केसीको सत्याग्रहको २४ दिन पुग्दासमेत सरकारले वार्ता टोली पनि गठन गर्न नसकेको भन्दै आन्दोलनका कार्यक्रमहरु अगाडि सारेको जनाएको हो ।

बिहीबारबाट देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुले बिहान ९ देखि ११ बजे सम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक (कोभिड-१९) सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरी जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दूरी कायम गर्दै धर्ना दिने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधी रिले अनसन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

डा.केसीको सत्याग्रह अन्त्यका लागि सहज वातावरण नगराईएको अवस्थामा शुक्रबार दिनका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र (कोभिड-१९) का सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बहिष्कार गर्ने निर्णय गरिएका संघले जनाएको छ । आइतबार संघले डा.केसीसँग वार्ता समिति गठन गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

सरकारले वार्ताको कुनै चासो नदिएपछि संघले आन्दोलन गर्ने चेतावनी दिएको जनाएको छ । संघ अझै पनि नेपाल सरकारलाई (कोभिड-१९) को महामारीका समयमा स्वास्थ्य सेवा प्रवाहमा उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति गहन रुपमा मनन गरी अबिलम्ब वार्ता टोली गठन गरेर वार्ता र संवादको माध्यमद्वारा सत्याग्रहको अन्त्य गर्नसमेत विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

प्रकाशित :२१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्